RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१३ गते
५५७ पटक

नेपालगन्ज– भेरी अस्पताल, नेपालगन्जमा बाँकेका सम्पूर्ण स्थानीय तहको सहयोगमा कोभिड विशेष आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
बाँकेका आठवटा स्थानीय तह र जिल्ला समन्वय समितिको गरी कुल एक करोड लागतमा आइसोलेसन वार्ड स्थापना गरिएको हो । भेरी अस्पताल कोभिड–१९ अस्पतालका संयोजक डा. श्यामसुन्दर यादवका अनुसार अस्पतालमा ९० बेडको कोभिड आइसोलेसनका साथै १५ बेड

प्रिकोभिड र कोरोनाबाहेक अन्य बिरामीलाई राख्न मिल्ने बेडको स्तरोन्नति गरी अक्सिजनसहितको १ सय १५ बेड थप गरिएको छ । योसँंगै अब भेरी अस्पतालमा करिव २ सय बेडको आइसोलेसन तयार भएको यादवले बताए ।

आइसोलेसन वार्ड सञ्चालनका लागि जिल्ला समन्वय समितिको ७५ लाख, नेपालगन्ज उपमहानगरपालिको ६ लाख २५ हजार र कोहलपुर नगरपालिकाको ३ लाख ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहले २ लाख ५० हजारका दरले सहयोग गरेका छन् ।

नवनिर्मित कोभिड विशेष वार्डको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले एक समारोहका बीच उदघाटन गरेका छन् । उदघाटन गर्दै श्रीवास्तवले कोरोनाको बढदो जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहको सहयोगमा आइसोलेसन सञ्चालनमा आउनु राम्रो भएको बताए ।

“यसले पश्चिम तराईका कोरोनाका साथै अन्य बिरामीलाई लाभ पुग्ने छ,” उनले भने । त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँले कोरोनाको दोस्रो लहर आए पनि यो वार्डले अब कोरोनाका बिरामी राख्न पर्याप्त ठाउँ हुने बताए । अस्पताल शुक्रबार भेरी अस्पताललाई हस्तान्तरण गरिएको छ । कारोबार दैनिकबाट ………….

प्रतिकृया दिनुहोस्