RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१५ गते
१३८७ पटक

काठमाडौँ — पार्टी विभाजनसँगै प्रधानमन्त्री केपी ओलीवरुद्ध राजनीतिक, संवैधानिक र सडक संघर्षमार्फत दबाब बनाउने रणनीति लिएको नेकपाको दाहाल–नेपाल समूहले ओलीको राजनीतिक निष्ठा र उनको नियतमाथि प्रश्‍नैप्रश्‍न उठाएको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरेपछि विभाजित नेकपाको दाहाल नेपाल समूह ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै प्रहारैप्रहारमा उत्रेको छ ।

संसद् विघटनको विरोधमा दाहाल–नेपाल समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । यहीक्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको निष्ठा र राजनीतिक चरित्रमाथि प्रश्न उठाएका हुन् । पार्टी विभाजन नहुँदै दाहालले तयार पारेको राजनीतिक प्रस्तावमा पनि ओलीमाथि केही प्रश्न थिए ।

पूर्वसहकर्मीसमेत रहेका तीनपूर्व प्रधानमन्त्रीले एउटै मञ्‍चबाट ओलीमाथि शब्दवाण प्रहार गरेका छन् । यतिसम्म कि मंगलबारको कार्यक्रममा अध्यक्ष नेपालले त सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीको कार्यशैली पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरे । अर्का अध्यक्ष दाहालले ओलीमा निरंकुश तानाशाही शैली देखिएको र उनले देशलाई भड्खालो हाल्न खोजेको आरोप लगाए । वरिष्ठ नेता खनालले ओली लोकतन्त्रविरोधी नेता भएको बताए ।

ओलीबारे दाहालले के भने ?

भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै संसद् विघटन गर्ने कदममा प्रधानमन्त्री अरु कसैको गोटी भएको दाहालले आरोप लगाए । ‘मलाई लाग्छ, केपी ओलीलाई कसैले गोटी बनाएको छ । उनले चुनाव गर्नका लागि होइन देखाउनका लागि घोषणा गरेका हुन् । वैशाखपछि त उनी प्रधानमन्त्री नै रहँदैनन्, तिनैले अहिले महाराजधिराज हुन्छु भन्ने सपना देखेका छन्’ दाहालले ओलीमाथि प्रहार गरे ।

संसद् विघटन गरेर ओलीले कलंकको टीका लगाएको दाहालको आरोप छ । ‘संविधानविरोधी काम गरेर ओलीले संसद विघटन गराएका छन् । ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्,’ दाहालले भने, ‘त्यो कहिल्यै मेटिने छैन । जबसम्म उनले पश्चताप गर्ने छैनन् ।’

दाहालले ओलीलाई अझै ठूलो आन्दोलनको सामना गर्न चेतावनी दिए । ‘नेपाली जनता जागिसकेका छन् । आन्दोलनको आँधीहुरी आउनै बाँकी छ । प्रतिगमनका पक्षपातीलाई जनताले छाड्दैनन्’, दाहालको भनाइ थियो, ‘तपाईंहरु के के गर्न सक्नुहुन्छ गर्नु भए हुन्छ । राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारीलाई सजिलै फाल्छन् ।’

दाहालको थप भनाइ थियो, ‘हामी जीवनमरणको संघर्षमा छौं । म त ओलीजस्तो ढाँटछल गर्दिनँ, सिधासिधा भन्छु–यत्तिकै छोड्नेवाला छैनौं, तपाईं (ओली) के गर्ने मन छ, गर्नुस् ।’

ओलीले संसद विघटन गरेर गल्ती भयो नभनेसम्म उनलाई इतिहासले माफ नगर्ने दाहालले बताए । ‘गल्ती गरेँ भनेर नआउँदासम्म र नसच्चिँदासम्म उनलाई नेपाली जनताले क्षमा दिँदैनन् । संसद विघटन गैरसंवैधानिक छ । त्यसैले ओलीले म अपराधी हुँ नभनेसम्म इतिहासले उनलाई माफी दिने छैन’ दाहालले भने ।

ओलीबारे नेपालले के भने ?

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गर्दै भने, ‘ओलीमा व्यक्तिवाद छ । राष्ट्रियताको खुट्टा टेक्नुभएको छैन । उहाँ प्रधानमन्त्री बनिरहन संसद् विघटन गर्न तयार हुनुभयो । ज्ञानेन्द्रमा ठीक यही शैली थियो ।’

अध्यक्ष नेपालले ओलीमा कम्युनिष्ट चिन्तन नै नरहेको आरोप लगाए । भने, ‘लाजमर्दो भएको छ, कम्युनिस्ट पार्टीमा यस्ता मान्छेको जन्म हुँदोरहेछ । ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचरण छैन ।’

उनले ओलीमा गणतन्त्रप्रति कुनै माया नभएको आरोप लगाए । ‘उहाँले गणतन्त्रको आन्दोलनका खिसिट्युरी गर्नुभएको हो । चढेर वासिङ्टन पुग्न सकिँदैन भन्नुभएको हो । उहाँमा गणतन्त्रप्रति माया छैन । परिवर्तनप्रति पनि माया छैन । त्यहीँ भएर एकपछि अर्को कदम चाल्नु भएको छ ।’

यतिमात्र होइन अध्यक्ष नेपालले ओली सुध्रिनै नसक्ने मान्छे भएको आरोप पनि लगाए । ‘साथीहरु ओलीमा सुधार आउँछ कि भन्नुहुन्छ । तर, उनी सुध्रिने मान्छे होइनन् । उनलाई सुधार्ने र बालुवा पेलेर तेल निकाल्ने उस्तै काम हो’ अध्यक्ष नेपालले भने । उनले ओलीलाई सुध्रिएर आए पार्टीमा जिम्मा दिने बताए ।

अध्यक्ष नेपालको ओलीमाथि थप प्रहार थियो, ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ? हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ ।’

ओलीबारे खनालले के भने ?

वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले ससंद विघटन गरेर संविधानमाथि बलात्कार गरेको आरोप लगाए । ‘ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे,’ खनालले भने, ‘ओलीले संविधानमा प्वाल पारेका छन् । त्यसैलाई स्वीकार गर्ने हो भने देश अस्थिरतातर्फ जानेछ । ती प्वाललाई टाल्नुपर्ने हुन्छ । त्यसका लागि संसद्को पुनःस्थापना अनिवार्य भइसक्यो । अब जनता उठे, आँधीबेहरी उठाउँछौँ ।’

खनालले पार्टीलाई ओलीले विश्वासघात गरेको र पार्टीलाई भर्‍याङमात्र बनाएको बताए । ‘जनताले दिएको भोट ओलीलाई थिएन, नेकपालाई थियो । हामीले अपार विश्वास गरेर उनलाई प्रधानमन्त्री बनायौं, तर उनले दुरुपयोग गरेर संसद् विघटन गरे ।’

नेता खनालले ओलीले समयमात्रै नास गरेको बताए । ‘किन काम गर्न सक्नुभएन भन्दा उहाँले भन्नुहुन्थ्यो–विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् । उनले ३ वर्ष खेर फाले ।’

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्