RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१६ गते
२२७० पटक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको चीनका आर्थिक गतिविधि भने एक वर्षदेखि ठप्प छन् । विश्वव्यापी कोभिड–१९को महामारी सुरु भएयता नेपाल–चीन आर्थिक साझेदारीका अधिकांश परियोजना बन्द अवस्थामा छन् ।

चीनले कोभिडको कारण देखाउँदै अन्तरदेशीय रेलको अध्ययनदेखि चक्रपथ विस्तार, सुख्खा बन्दरगाह निर्माणलगायतका थुप्रै आयोजनाको काम रोकेर राखेको छ । त्यति मात्रै होइन, चीनसँगका प्रमुख दुई व्यापारिक नाका पनि एकदमै न्यून मात्रामा मात्रै खोलेको छ ।

नेपालले चिनियाँ सहयोगका परियोजना अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि कोभिडको कारण देखाउँदै चीन पन्छिँदै आएको अर्थ मन्त्रालयका एक अधिकारीे बताए । ‘चीनले पछिल्ला समयमा राजनीतिक भेटघाट, भ्रमण तथा छलफल अघि बढाए पनि आर्थिक गतिविधि भने यथास्थितिमा राखेको छ’ उनले भने ।

कोभिडको कारण देखाउँदै चिनियाँ अध्ययन टोली नेपाल नआउँदा नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढ्न सकेको छैन । कोभिडकै कारण देखाउँदै चीनले उत्तरी क्षेत्र विकास कार्यक्रमसमेत अघि बढाएको छैन । चीनसँग सीमा जोडिएका १५ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने विकास कार्यक्रम कोभिडकै कारण अन्योलमा परेको छ ।

टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि समझदारी भए पनि काम सुरु भएको छैन । चिनियाँ सहयोग आयोजनाको दोस्रो चरणको विस्तारअन्तर्गत कलंकी–महाराजगन्ज–चाबहिलसम्मको ११ किलोमिटर विस्तार काम चालू आर्थिक वर्षदेखि सुरु गर्ने तयारी थियो । तर, पूर्वतयारी लगभग सकिए पनि चिनियाँ पक्ष नआउँदा काम सुरु हुन सकेको छैन ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणका लागि ४ मंसिर २०७६ मा सिलान्यास भयो, केही समय काम पनि भयो । तर, अहिले निर्माणले गति लिन सकेको छैन, काम ठप्प छ । स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिको काम पनि रोकिएको छ ।

चिनियाँ प्राविधिक नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाइटिङ, सेन्ट्रल एसी जडानलगायत प्राविधिक काम रोकिएको छ । कोभिडकै कारण देखाउँदै भक्तपुरमा वीर अस्पताल निर्माण तथा मदन भण्डारी प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि समेत चिनियाँ टोली आएका छैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाहेक चिनियाँ सहयोगका अधिकांश परियोजना एक वर्षदेखि ठप्प रहेको सरकारी अधिकारले औँल्याएका छन् ।

राजनीतिज्ञ आए, कामदर आएनन्
कोभिड महामारीकै बीच चीनले राजीतिक गतिविधि भने बढाएको देखिन्छ । मुलुकमा राजनीतिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उच्च तहका नेतासँगको भेटलाई तीव्रता दिने गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले गत साताको बिहीबार र शुक्रबार नेकपाका चार नेतासँग भेट गरिन् ।

बिहीबार सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेटिन् । त्यतिमात्रै होइन, चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल अहिले नेपाल भ्रमणमा छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणका लागि एयर चाइनाको चार्टर्ड विमानमा १२ पुसमा काठमाडौं आएको हो । त्यसअघि चिनियाँ रक्षामन्त्री जनरल वेई फेंगेले १४ मंसिरमा नेपाल भ्रमण गरेर फर्केका थिए ।

यसबीचमा चीनबाट उच्चस्तरीय राजनीतिज्ञको भ्रमण पटकपटक भए पनि कामदार भने सीमित  मात्रामा मात्रै आएका छन् । यो आर्थिक वर्ष सुरु भएयता साउनदेखि मंसिरसम्म ५ सय ७६ जना चिनियाँ नागरिक नेपालमा भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । यसमा दूतावासका कर्मचारीदेखि पर्यटक, राजनीतिज्ञ तथा चिनियाँ व्यवसायी र सीमित मात्रामा मजदुर रहेका छन् । खासगरी चिनियाँ प्राविधिक तथा कामदार नआउँदा चिनियाँ सहयोगका परियोजना अघि बढ्न नसकेको सम्बन्धित परियोजनाले जनाएका छन् ।

नयाँ पत्रिका दैनिकबाट…………………..

प्रतिकृया दिनुहोस्