RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१६ गते
७३७ पटक

हेटौंडा : नेकपाको दाहाल–नेपाल समूहका बागमती प्रदेशसभा सदस्यले मुख्यमन्त्री डोरमणि पौडेललाई स्पष्टीकरण नदिने भएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको उक्त समूहको प्रदेश संसदीय दलको बैठकले दलका नेताबाट हटाइसकेको व्यक्तिले सोधेको स्पष्टीकरण नदिने निर्णय गरेको हो।

बरु मुख्यमन्त्री पौडेललाई दलका नेताबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा गराउने निर्णय बैठकले गरेको छ। ‘पुस ९ गते नै हामी ४५ जना प्रदेशसभा सदस्यले पौडेललाई संसदीय दलका नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिसकेका छौं’, मुख्यमन्त्री पौडेलले पदमुक्त गरेका सचेतक बुद्धिमान माझीले भने, ‘दलका नेताबाट हटाइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्ने अधिकार छैन। हामी कसैले जवाफ पनि दिँदैनौं।’ साथै मुख्यमन्त्री पौडेललाई दलका नेताबाट हटाएको आधिकारिक जानकारी पठाइने माझीले बताए।

मुख्यमन्त्री पौडेलले नेकपा प्रदेश संसदीय दलका उपनेता सालिकराम जम्कट्टेल र सचेतक माझीलाई मंगलबार पदमुक्त गरेपछि दाहाल–नेपाल समूहको बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले दलका नेताको हैसियतले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३० जनालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र लेखेका थिए।

दाहाल–नेपाल समूहको दलकी नेता शाक्यले आफूलाई बहुमत सदस्यले दलका नेता चयन गरेकाले दलका नेताको हैसियतले मुख्यमन्त्री पौडेलले गरेको गतिविधि अवैधानिक हुने बताइन्। ‘दलका नेताबाट हटाइसकेको व्यक्तिसँग स्पष्टीकरण सोध्ने अधिकार हुँदैन’, शाक्यले भनिन्, ‘हामी कसैले पनि स्पष्टीकरण नदिने निर्णय गरेका छौं।’ विधि र प्रक्रियाअनुसार मुख्यमन्त्री हटाउने प्रक्रिया अघि बढाइसकेको र छिट्टै प्रदेशले नयाँ मुख्यमन्त्री पाउने उनले बताइन्।

बैठकले आफ्नो दलभित्र सरकार निर्माणका लागि बहुमत जुटाउन प्रयास गर्ने, कांग्रेससहित अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताए। दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि बैठक सञ्चालनबारे बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ आन्तरिक परामर्शमा छन्। माघ पहिलो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउनुपर्ने संवैधानिक प्रावधान छ। मुख्यमन्त्री पौडेल त्यसअघि नै आफ्नो पक्षमा बहुमत जुटाएर विश्वासको मत लिने प्रयासमा छन्। त्यसका लागि आफ्नो पक्षमा पार्न दाहाल नेपाल पक्षका १५ जना प्रदेशसभा सदस्यसँग स्पष्टीकरण नमागी आन्तरिक छलफल गरिरहेको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ।

बागमती प्रदेशमा नेकपा रहेको एक सय दश मतमध्ये नेकपासँग कुल ८० मत छ। तीमध्ये ४६ मत दाहाल–नेपाल र ३४ मत ओली पक्षसँग देखिएको छ। २२ मत कांग्रेस र बाँकी ८ मत साना दलसँग छ।

अन्नपुर्ण पोष्ट दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्