RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
६८४ पटक

काठमाडौँ, माघ २९ गते । विभिन्न उद्योग, प्रतिष्ठान र परियोजनाले सरकारसँग गरेको सम्झौताअनुसार सट्टाभर्नाको रुखबिरुवा रोप्न लापरबाही गरेको पाइएको छ । सरकारसँग बिरुवा रोप्ने सम्झौता गरी गए पनि बिरुवा रोप्ने काम भने धेरैले उधारोमा नै राखेका छन् ।

धेरै परियोजनाले आफ्नो उत्पादन थालेर नाफा कमाइसकेका छन् तर सरकार भने रुखबिरुवा र जग्गाको मामलामा घाटामा रहेको वन तथा वातावरण मन्त्रालयका पदाधिकारी बताउँछन् । सरकारले सट्टाभर्नाबापत पाउनुपर्ने जग्गा नपाइरहेको अवस्था छ ।

अर्कोतर्फ सरकारले दिएको जग्गामा उद्योग, प्रतिष्ठान र परियोजना सञ्चालन गर्दा काटिएका रुखबिरुवाको समेत सट्टाभर्ना राम्ररी नपाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुङ्गानाले भन्नुभयो, “कसैले रोप्दै नरोप्ने, रोपेको जानकारी नदिने, कसैले सरकारी जङ्गलभित्र रोप्ने गरेको पाएका छौँ, यसले गर्दा सरकारको वन विकास योजना सफल देखिएन ।” उहाँले मन्त्रालयले केही परियोजनाको स्थलगत अनुगमन गर्दा रुखबिरुवाको सट्टाभर्नामा लापरबाही भएको पत्ता लागेको बताउनुभयो ।

सरकारले लिएको विकासको नीतिअनुसार पूर्वाधारको विकासमा सघाउन वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको खाली जग्गा अन्य प्रयोजनका लागि दिने गर्छ ।
यसरी जग्गा दिँदा राष्ट्रिय प्राथमिकतामा परेको परियोजना हुनुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार सडक, सिँचाइ, जलविद्युत्, सुरक्षा निकाय, सरकारी कार्यालय, विश्वविद्यालय लगायतका क्षेत्रलाई जग्गा दिइँदै आएको छ ।

यसरी जग्गा दिँदा वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेको कार्यविधि र कार्यनीतिअनुसार दिइन्छ ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्