RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१४ गते
८१६ पटक

काठमाडौँ, फागुन १४ गते । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सबैलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको भ्रष्टाचार गर्न दिन्न र गर्दिनँ भन्ने भनाइमा आश्वस्त पार्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा आउनुस् आश्वस्त तुल्याउनुस्, भ्रष्टाचार अब गर्न दिन्न भनेर ।” संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर विश्वास दिलाउनसमेत उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । यसैगरी उहाँले आर्थिक अनियमितता भएका भनिएका सम्पूर्ण घटनाका सम्बन्धमा संसद्मा प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।

सरकारको ध्यानाकर्षण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले दार्चुलाको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको सन्दर्भ उठाउँदै अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकी थप गर्ने सरकारको योजनालाई तदारुकताका साथ अगाडि बढाउन माग गर्नुभयो ।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनबारे भारतीय पक्षको प्रतिक्रिया र असमान सन्धि सम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा भएको प्रयासबारे संसद्लाई जानकारी गराउन उहाँले माग गर्नुभयो । उहाँले दक्षिण कोरियामा कोरोना भाइरस फैलिरहेको सन्दर्भ उल्लेख गर्दै त्यहाँका नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समाजवादी पार्टीका सांसद सरिता गिरीले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको र भ्रष्टाचारको नयाँ स्वरूप देखा परेको भन्दै अनियमिता छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो । यसैगरी राजपाका सांसद प्रमोद साहले संविधान संशोधनका विषय पटकपटक उठाए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्