RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१४ गते
७३६ पटक

एजेन्सी । नागरिकता विधेयक (सिएए) काे विराेधमा भारतकाे नयाँ दिल्लीमा जारी दंगामा २४ घण्टामा १३ जनाकाे ज्यान गएकाे छ । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको हाे । दंगामा डेढ सयभन्दा बढी घाइते भएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन सुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्‍यो ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।

आफ्नो निर्वाचन क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि भाजपाका सांसद तथा पूर्वक्रिकेटर गौतम गम्भीरले भड्कावपूर्ण अभिव्यक्ति दिने जोकोहीलाई प्रहरीले कारबाही गर्नुपर्ने बताएका छन् । दिल्लीका भाजपा नेता कपिल मिश्रले सोमबार सार्वजनिक रूपमै विगत दिल्लीको जाफरावाद र चाँदवाग क्षेत्रमा जारी प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई ‘अल्टिमेटम’ दिएका थिए ।

प्रतिकृया दिनुहोस्