RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१५ गते
७६६ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ।

बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय सार्वजनिक भएको थियो।

पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी गराएलगत्तै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि सार्वजनिक भएको छ। प्रधानमन्त्री ओली गौतमको विपक्षमा देखिएपछि सत्तारुढ नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यका लागि भने हालका अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरिसकेका कारण तत्काल गौतमलाई सिफारिस गर्न नसकिने जनाएको सार्वजनिक भएपछि नेकपाका शीर्ष नेताहरु नै सशंकित भएका थिए।

तर पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने ओलीकै अगाडि निर्णय भएकाले खतिवडाको बारेमा कुरा भएजस्तो आफूलाई नलागेको बताए।

‘बैठकमा वामदेवजीलाई सर्वसम्मत राष्ट्रियसभामा पठाउने निर्णय भएको हो अरु विषय त मलाई थाहा भएन’, वरिष्ठ नेता खनालले भने। उनले बुधबार साँझ भएको ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटघाटबारे पनि अनभिज्ञता प्रकट गरे। ‘उहाँहरु भेट हुनुभयो होला तर मलाई यसबारेमा थाह भएन’, खनालले भने।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्