RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१५ गते
७५१ पटक

सुर्खेत । प्रदेश सरकार मातहत रहेका कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी रिक्त रहेका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा रहेका विभिन्न १६ वटा कार्यालयमा कर्मचारीको अभाव देखिएको छ ।

स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार कुल दरबन्दी आठ सय ९७ मा छ सय ३६ जना अर्थात दरबन्दीको ७१ प्रतिशत कर्मचारीको दरबन्दी रिक्त छ । हाल दुई सय ६१ जना अर्थात २९ प्रतिशत मात्रै दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् ।

तथ्याङ्क अनुसार कर्णाली प्रदेशको प्रदेश अस्पताल, जिल्ला अस्पतात, स्वास्थ्य सेवा कार्यालयमा कर्मचारी दरबन्दी अनुसारका कर्मचारीको अभाव छ । कर्णाली प्रदेश अस्पतालमा दुई सय ४५ जनाको दरबन्दी रिक्त रहेको छ । कुल दरबन्दी तीन सय २५ भएकोमा हाल ८० जना मात्र दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका नायव सुब्बा गणेश शर्माले दिएको जानकारी अनुसार पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालमा ५३ जनाको दरबन्दी भएकोमा ३० जनाको दरबन्दी खाली छ भने हाल २३ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयमा ३७ जनाको दरबन्दी रहेकामा १३ जना कर्मचारीको दरबन्दी खाली छ ।

यस्तै, स्वास्थ्य सेवा कार्यालयहरु डोल्पामा ४७ जनाको दरबन्दी रहेकोमा ३९ जनाको दरबन्दी रिक्त छ । मुगुमा ४८ जनाको दरबन्दी रहेकोमा ३६ जनाको दरबन्दी रिक्त, कालीकोटमा ४७ दरबन्दीमा ३१ जनाको रदबन्दी रिक्त छ, हुम्लामा ४८ जनाको दरबन्दी रहेकोमा ३७ जनाको दरबन्दी रिक्त छ, जाजरकोटमा ६५ जनाको दरबन्दी भएकोमा ५५ जनाको दरबन्दी रिक्त रहेका छ । दैलेखमा ६५ दरबन्दीमा ४१ जनको दरबन्दी रिक्त, सल्यानमा ६५ दरबन्दीमा ५५ जना रिक्त, रुकुम पश्चिममा ४८ जनाको दरबन्दी भएकोमा ३३ जनाको दरबन्दी रिक्त रहेको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयहरु सुर्खेतमा १५ जनाको दरबन्दी रहेकोमा ३ जनाको दरन्बन्दी रिक्त छ । जुम्लामा १६ जनाको दरबन्दी भएकोमा ४ जनाको दरबन्दी रिक्त रहेको तथ्याङ्क उल्लेख गरिएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखामा छ जनाको दरबन्दी भएकोमा दुई जनाको दरबन्दी रिक्त रहेका छ । प्रदेश आयुर्वेदिक औषधालयमा आठ जनाको दरबन्दी रहेको सात जना कार्यरत रहेका छन् भने एक जना अध्ययन बिदामा रहेका छन् । मानव संसाधन विकास केन्द्रमा चार जनाको दरबन्दी भएकोमा दशौँ तहका कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको हो । प्रदेश सरकार गठन भय यता देखि नै कर्मचारीको चरम समस्या झेल्दै आएपछि हालसम्म पनि त्यो समस्या समाधान हुन सकेको छैन । हाल प्रदेशका स्वास्थ्य क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि कर्मचारीको चरम अभाव छ । यस अघि २०७६ भदौँमा कर्णाली प्रदेश सरकारले प्रदेश मातहतअन्तर्गत पर्ने कार्यालयहरुमा २५ सय ५५ कर्मचारीको दरवन्दी स्वीकृत गर्ने गरी ओएनएम स्वीकृत गरेको थियो । तर हालसम्म पनि अधिकांश क्षेत्रमा कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।कर्णालीपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्