RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१७ गते
९६२ पटक

सुर्खेत । कर्णालीका भर्खरै ट्रयाक खुलेका सडकहरुमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन् । कर्णाली राजमार्ग, कर्णाली करिडोर र भेरी करिडोरमा यात्रुहरुबाट यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेका हुन् ।

कर्णाली राजमार्गको कालीकोट सडक खण्डको शुभकालिका गाउँपालिका–१ हुल्मदेखि खाँडाचक्र नगरपालिका–५ को मान्मसम्म सवारी साधनले दोब्बर भाडा असुल्ने गरेका छन् ।

कर्णाली करिडोरको कालीकोटको लालीघाटदेखि बाजुराको पिलिचौरसम्म पनि दोब्बर भाडा असुल्ने गरेका छन् । त्यस्तै, भेरी करिडोरको जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको सडकमा चर्को भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो रहेको छ ।

कर्णाली करिडोरअन्तर्गतको कालीकोटको शुभकालिका–१ हुलदेखि सदरमुकाम मान्मसम्मको यातायात व्यवस्था विभागले १४ किलोमिटर सडकमा भाडा दर ७० रुपैयाँ तोकेको भए पनि यात्रुहरुबाट सवारी साधनले एक सय ५० रुपैयाँसम्म असुल्ने गरेका छन् ।

यात्रुहरुबाट चर्को भाडा असुल्ने गरेको त्यसको विरोध गर्दा सार्वजनिक सवारीमा चालक र सहचालकमार्फत यात्रुमाथि हुने दुव्र्यबहार र गाली गर्ने गरेको स्थानीय प्रदीप बोहराले बताए । ‘सार्वजनिक यातायातमा भाडा बढी असुल्न पाइदैँन भन्दा ममाथि आक्रमण नै भयो ।’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय र ट्राफिकलाई यो विषयमा गुनासो गर्दा सुनुवाइ हँुदैंन ।’

बढी भाडा असुलेको विषयमा जिल्ला ट्राफिक कार्यालयमा जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको बोहराले बताए । ‘जिल्ला प्रहरी कार्यालयले नै गाडीलाई कुनै कारबाही गरेन ।’ उनले भने, ‘अन्यायमा परेका यात्रुले कहाँबाट न्याय पाउने ?’ भेरी करिडोर अन्तर्गतको जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको ९० किलोमिटर यात्रा गर्दा एउटा यात्रुले दुई हजार पाँच सयसम्म तिर्नुपर्छ ।कर्णालीपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्