RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
७५२ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्ष पूरा हुँदा प्रतिनिधिसभामा गरेको सम्बोधनमा मुलुकमा खाद्यान्न उत्पादन उल्लेखनीय वृद्धि भएको बताए पनि प्रमुख खाद्यान्नका लागि सो अवधिमा १ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । प्रधानमन्त्रीले खाद्यान्न वृद्धि भएको दाबी गरे पनि वास्तविक तथ्यांकमा भने त्यस्तो देखिँदैन ।

प्रधानमन्त्रीको दाबीलाई विश्वास गर्ने हो भने सो अवधिमा खाद्यान्नबापतको रकम बाहिरिने क्रम घट्नुपर्ने हो । तर, सो अवधिमा आयातबापतको रकम घट्नुको साटो बढिरहेको पाइएको छ ।
प्रधामन्त्री ओलीले संसद्लाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको दुई वर्षे कार्यकालमा सिँचाइ सुविधामा विस्तार र कृषि मलमा बढाइएको अनुदानले खाद्यान्न उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको दाबीसमेत गरेका थिए ।

भन्सार विभागको तथ्यांकअनुसार साढे दुई वर्षको अवधिमा मुख्य चार खाद्यान्न वस्तुको आयातमा १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार बाहिरिएको छ । विभागको तथ्यांकअनुसार गत अढाइ वर्षको अवधिमा चामल, मकै, गहुँ र जौ आयात गर्दा १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार बाहिरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्षमा चामलका लागि मात्र ८१ अर्ब १८ करोड २३ लाख १९ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, मकैमा ३५ अर्ब ६८ करोड ५ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, गहुँका लागि ७ अर्ब १७ करोड ४६ लाख ९३ हजार रुपैयाँ, जांैका लागि २४ करोड ७ लाख रुपैयाँ बाहिरिएको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्