RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
८६१ पटक

छिमेकी मुलुक चीनलगायत अन्य देशहरूमा फैलिएको नोबल कोरोना भाइरसको कारण नेपालमा सञ्चालनको मिति तय भएका ठूला व्यापारिक प्रर्दशनी रोकिएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले छुट्टाछुट्टै रुपमा गर्न लागेका मेला कोरोना भाइरसका कारण स्थगित भएका हुन् । चेम्बरले फागुनमा र महासंघले चैतमा यस्तो मेला आयोजना गर्ने कार्यतालिका थियो ।

चेम्बर अफ कमर्शले यसै सातादेखि भृकुटीमण्डपको प्रदर्शनी मार्गमा गर्ने भनेको पाँचौं नेपाल चेम्बर एक्स्पो तत्कालका लागि स्थगित गरेको छ । अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भिœयाउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वासका साथ मेला आयोजना गरिएको थियो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्तर्राष्टिय व्यापार मेलामा विदेशीहरू आउन सहज नभएपछि मेला स्थगित गरिएको बताए ।

मेलामा चीन, बैंकक, भारत लगायत झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी गराउने तयारी भएको थियो । “अन्य मुलुकबाट पनि प्रदर्शनकर्ता धेरै आउन इच्छुक थिए तर कोरोना भाइरसको प्रभावका कारण अहिले केही समयका लागि रोकिएको हो, केही समयपछि मेला सञ्चालन हुन्छ,” अध्यक्ष श्रेष्ठले भने ।

आगामी चैतको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न मिति घोषणा गरिसेकेको नेपाल उद्योग बाणिज्य महासंघले पनि केही समयका लागि मेला नगर्ने भएको छ ।

स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय अन्तराष्ट्रिय बजार विस्तार गर्ने, वाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने मेलाको उद्देश्य थियो ।

सरकारले नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरेका वस्तुहरूको प्रवद्र्धन गर्ने मुख्य हेतुले महासंघले हरेक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । यस वर्ष हुने मेला कारोना भाइरसका कारण प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्