RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
७४२ पटक

काठमाडौँ, फागुन १८ गते । उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी एकीकृत यातायात प्रणालीको विकासको प्रस्तावसहित सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिले पुनर्लेखन गरेको छ ।

एकीकृत यातायात प्रणालीको विकास, रुट निर्धारण, भाडा निर्धारण लगायतका प्रबन्ध गरी यातायात सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी समितिले विधेयक परिमार्जन गरेको हो । सरोकारवालाहरूको सुझावका लागि समितिले परिमार्जित विधेयकमा सुझावसमेत लिइरहेको छ ।

समितिले परिमार्जन गरेको विधेयक अनुसार प्राधिकरणले नै रुट निर्धारण, समय निर्धारण तथा भाडादर निर्धारण गर्नेछ । यस्तै नगदविहीन भाडा प्रणाली लागू गरी कार्यान्वयन गराउने अधिकार पनि प्राधिकरणसँग हुनेछ ।

प्रस्तावित व्यवस्था अनुसार अधिकारसम्पन्न प्राधिकरणले निश्चित रुटमा सार्वजनिक यातायात सञ्चालक कम्पनीलाई सञ्चालन अनुमति दिनेछ । सञ्चालन लागत करार प्राधिकरण र कम्पनीबीच हुनेछ । यातायात कम्पनीले करार बमोजिमको रकम पाउने छ । नाफा वा घाटाको सम्पूर्ण लाभ र दायित्व प्राधिकरणसँग रहनेछ ।

विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिले नयाँ ढङ्गबाट विधेयकलाई परिमार्जन गर्न चाहेको र सरोकारवालासँग परामर्श भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ स्वरूपमा विधेयकलाई परिमार्जन गरेका छौँ ।

पुनर्लेखन नै गरेका छौँ । हाम्रो प्रस्ताव अनुसार विधेयक अघि बढेमा सार्वजनिक यातायात सञ्चालन, व्यवस्थापन सबै प्राधिकरणले पाउने छ । यातायात कम्पनीसँग निश्चित सम्झौता हुनेछ । त्यस्ता कम्पनीले सम्झौता बमोजिमको रकम प्राधिकरणबाट लिएर सेवा दिनुपर्नेछ ।”गोरखापत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्