RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
८२७ पटक

काठमाडौं : राष्ट्रियसभाले दुई वर्षे कार्यकाल समाप्त भएका १९ जना सांसदको मंगलबार बिदाई गरेको छ। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल मंगलबार सकिएको हो।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने गरी गोला हालिएको थियो। राष्ट्रियसभाले मंगलबारको बैठकमा कार्यकाल समाप्त हुन लागेका सबै सांसदलाई अनुभव साट्न बोल्ने समय दिएको थियो।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले दुई वर्षे कार्यकालमा आफूले विपक्षी दलको नेता भएको महसुस कहिल्यै नगरेको अनुभव सुनाए। प्रतिनिधिसभामा विपक्षी कांग्रेसले अवरोध गर्ने गरे पनि राष्ट्रियसभाका अधिकांश बैठकले अवरोधको सामना गर्नु परेन। आफ्नो अनुभव नराखेका खतिवडाले मन्त्रीमा रूपमा पुनः निरन्तरता पाउने सम्भावना छ।

तर राष्ट्रिय सभामा खतिवडा वा वामदेव गौतममध्ये कसलाई पठाउने भन्नेमा नेकपा भित्र विवाद छ। राष्ट्रियसभामा विपक्षी दलका नेता पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल समाप्त भएको हो। यस्तै नेकपाका बलराम बाँस्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल सकिएको हो।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्