RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
७७५ पटक

भैरहवा, फागुन २१ गते । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।
मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।
अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताउनुभयो । सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।
“छोरी बचाऔँ, छोरी पढाऔँ” योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । उहाँले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
मधेसी र मुस्लिम समुदायका किशोरी अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेकाले ती समुदायमा स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो रणनीति अपनाएको उहाँको भनाइ छ । “किशोरीहरूलाई शिक्षाबाट वञ्चित गरिएकै कारण महिला हिंसा, बालविवाह तथा बेचबिखनका घटना बढिरहेका छन्”–बानियाँले भन्नुभयो–“चेतनाको अभावमा हिंसा सहन महिलाहरू बाध्य मात्रै होइन, बेरोजगार हुँदा बेचिन पनि बाध्य छन् । किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सके मात्रै महिला हिंसा र समुदायमा भएका विकृति अन्त्य गर्न सकिन्छ । ”गोरखापत्र दैनिकबाट …..

प्रतिकृया दिनुहोस्