RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२२ गते
६१३ पटक

काठमाडौँ, फागुन २२ गते । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाउनुभयो ।

“यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौँ, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उहाँले जनाउनुुभयो ।

“कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन; यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु)मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ”, उहाँले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भन्नुभयो, “प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा यस्तो देखिएको छैन ।”

अहिलेको आवश्यकता कोरोनाविरुद्धको एन्टिबडी खोज्नु रहेको औँल्याउँदै उहाँले भइरहेका अध्ययनले सघाउने विश्वास व्यक्त गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरेको प्रोटोकल अनुसार हरेक देशले अध्ययन गरेर त्यो सार्वजनिक गर्न सक्ने विषयमा हौस्याउनुभएको छ ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्