RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२३ गते
६४४ पटक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको रन्को सुरु भएको छ । ७ देखि १० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसभित्र संस्थापन समूह, संस्थापन इतर समूह र पुरानो संस्थापन समूह (कोइराला परिवार) कसरी महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेतर्फ अघि बढिसकेका छन् । संस्थापन समूहबाट फेरि पनि सभापतिका लागि शेरबहादुर देउवाले आफैं अघि सर्ने संकेत गरिसकेका छन् ।

यस्तै, १३औं महाधिवेशनमा सभापतिमा देउवासँगै पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल तथा १३औं महाधिवेशनको पहिलो चरणको मतदान प्रक्रियामा सभापति उम्मेदवार बनेका नेता कृष्णप्रसाद सिटौलासमेत सभापतिका लागि मैदानमा उत्रने संकेत देखिएको छ ।

सिटौलाले १३औं महाधिवेशनमा पहिलो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि दोस्रो चरणमा देउवालाई नै सघाएका थिए । कांग्रेसभित्रको पुरानो संस्थापन मानिएको कोइराला परिवारबाट समेत आगामी महाधिवेशनका लागि उम्मेदवार बन्ने विषयमा कांग्रेस वृत्तमा चर्चा सुरु भइसकेको छ । कोइराला परिवारबाट वर्तमान महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालामध्ये एक जना उम्मेदवार बन्न सक्ने चर्चा कांग्रेसभित्र सुरु भएको छ ।

पौडेलले भने यही नेतृत्वबाट कांग्रेस अघि बढ्न नसक्ने भन्दै बेलाबखत आफू उम्मेदवार बन्ने संकेत गर्दै आएका छन् । सिटौलाले केही दिनअघि झापा पुगेर उम्मेदवार बन्ने संकेत गरेका छन् भने कोइरालाद्वयले जिल्ला दौडाहाका क्रममा उम्मेदवार बन्न सक्ने बताउँदै आएका छन् ।

महाधिवेशनलाई लक्षित गरेर नै वर्तमान सभापति देउवा पौडेल पक्षका केही प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । देउवाले १७ फागुनमा पार्टीमा रिक्त रहेका विभागमध्ये १३ विभाग गठन गर्दा पौडेल समूहबाट अलग्गिएका केही नेतालाई जिम्मेवारी दिएका छन् । देउवाले गत सोमबार सात विभाग गठन गरेका थिए । उनले महाधिवेशनमा आफ्नो प्रभाव देखाउन २८ विभागलाई बढाएर ४७ बनाइसकेका छन् ।

देउवाले पौडेल समूह छाडेर आएका नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको जिम्मेवारी दिइसकेका छन् । यस्तै, देउवाले चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागको जिम्मेवारी दिएका छन् । १३औं महाधिवेशनअघि फरक समूहमा रहेर महाधिवेशनपछि निरन्तर आफूलाई सघाउँदै आइरहेका आनन्दप्रसाद ढुंगानालाई देउवाले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको जिम्मेवारी दिएका छन् ।

१३औं महाधिवेशनको केही दिनअघि देउवा समूहमा प्रवेश गरेका प्रभावशाली नेता फरमुल्लाह मन्सुरलाई देउवाले मुस्लिम विभाग र अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको जिम्मेवारी दिएका छन् । देउवाले जिम्मेवारी नपाएका केही नेतालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । उनले विभिन्न पार्टीबाट कांग्रेस भित्रिएकालाई समेत केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्