RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२४ गते
६५२ पटक

काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । ‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।’ उनले राजधानीसँग भने । बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो । शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११÷१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने ।

सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा १७ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा २४ हजार तीन सय वर्गमिटर अर्थात् नौ हजार पाँच सय खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी गराएका थिए । त्यस क्रममा काठमाडौं उपत्यकामा २७ किमी सडकमा आवधिक मर्मतसहित कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गराएका थिए ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्