RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२७ गते
१८१७ पटक

काठमाडौं – श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ। कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतार सरकारले नेपाली कामदारलाई प्रतिबन्ध लगाएको सूचना त्यहाँस्थित नेपाली दूताबासमार्फत प्राप्त भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक कुमार दाहालले कतारस्थित नेपाली दूताबासबाट प्रतिबन्ध लगाइएको सूचना प्राप्त भएकाले पुनः अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए। ‘हामीले नरोके पनि गन्तव्य मुलुकले प्रतिबन्ध लगाएपछि अब कतारमा नेपाली कामदार जान सक्दैनन्,’ उनले भने।

कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतले गिरावट आएका बेला कतार सरकारको उक्त निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ।

यसअघि कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडान तालिकालाई एक महिना पछि सारेको छ। महानिर्देशक दाहालले कोरियाको हवाई उडान मार्चपछि हुनेगरी कार्यतालिका फेरबदल गरिएको बताए। फागुन १८ देखि कोरियामा हवाई उडान हुन सकेको छैन। सोही मितिमा ६५ युवा कोरिया उड्ने तयारीमा थिए।

कोरोनाको त्रास फैलिएसँगै विभिन्न गन्तव्य मुलुकले नेपाली कामदारलाई प्रतिबन्ध लगाउने क्रम बढेपछि अर्थतन्त्रमा गम्भीर असर पर्ने खतरा देखिएको छ। आर्थिक वर्ष ०७५/७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। सोही वर्ष कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा रेमिटेन्सको हिस्सा २४.४ प्रतिशत थियो। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्