RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२७ गते
९७५ पटक

जुम्ला- जुम्लाको तिला गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटले हरेक दिनको पहिलो घण्टी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई पढाउन थालेको छ। कोरोना भाइरस, यसको लक्षण र बच्ने उपायका बारेमा विद्यार्थीलाई पहिलो घण्टीमा पढाउदै आएको हो। सँगै कोरोना भाइरसको उत्पत्ति र सर्ने तरिका बारेमा अभिभावकलाई पनि सचेत बनाउँछ।

विद्यार्थीहरुले कक्षामा टाँसिएर नबस्ने, राम्ररी पकाएर मात्र खानेकुराको प्रयोग गर्ने, पसलदेखि किनेर ल्याएको मासु प्रयोग नगर्ने र खाना खानु र खान खाइसकेपछि अनिर्वाय रुपमा साबुन पानीले हात धुनु पर्ने लगायतका बारेमा शिक्षण हुन्छ। प्रधानाध्यापक रामभजन यादव कोरोना भाइरसको संक्रमण कम भएपनि पूर्व तयारी रुपमा थालेको बताउँछन्।

विद्यालयमा हात नमिलाउने, अङ्कमाल नगर्ने र टाढैबाट नमस्कार गर्ने बानीको विकास भइरहेको छ। विद्यालयले थालेको पूर्व तयारीले गाउँमा खुसी छाएको छ। तिला गाउँपालिकाले श्रमिक महिला दिवसका अवसरमा कोरोना भाइरस बारेमा सचेतीकरण गर्‍यो। सबैतिर कोरोनाको चर्चा चलिरहेको बेला ग्रामिण क्षेत्रका महिलालाई कोरोनाको संक्रमण, लक्षण र पूर्व तयारीका बारेमा सहजीकरण गरिएको हो। स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर शाही कोरोनाका बारेमा ग्रामिण स्तरमा जानकारी गराउँदा निकै राम्रो भएको बताउँछन्।

जिल्ला प्रशासन कार्यालय जुम्लालले तीन पटक कोरोना भाइरस बारेमा छलफल गरिसकेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको उपस्थितीमा कोरोना भाइरसबारेको अन्र्तक्रिया गरेर सबैलाई सचेत गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा जुम्लामा कोरोनाको त्रास कम बताउँछन्। तर पूर्व तयारीका क्रियाकलाप हरेक स्थानीय तहमा भइरहेको बताए।

हरेक स्वास्थ्य संस्थाले आवश्यक पर्ने माक्स र औषधि उपचारको व्यवस्था गर्न जुटेका छन्। विदामा बसेका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन यहाँका स्थानीय सरकारले निर्देशन गरेका छन्। हरेक स्वास्थ्य संस्थामा तयारी अवस्थामा रहन निर्देशन गरिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए। उनका अनुसार गाउँपालिका भर झण्डै १० हजार माक्स वितरण गर्ने तयारी भइरहेको छ।

भाइरलको संक्रमण हुने बित्तिकै नजिकैको स्वास्थ्य संस्था र अस्पताल जान, स्थिति सहज नहुन्जेलसम्म भिडभाडमा नजान, समूहमा बसेर कुनै क्रियाकलाप नगर्न चिकित्सकहरु बताउँछन्। यसअघि कर्णाली प्रदेश सरकारले कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै कर्णालीसंग जोडिएका चीनका नाका बन्द गर्ने निर्णय गरिसकेको छ।
जुम्लाका सबै स्वास्थ्य संस्था र अस्पताल तयारी अवस्थामा छन्। स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई पनि तयारी हालतमा रहन सम्बन्धित सरोकारवालाले निर्देशन गरिसकेका छन्। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा कोरोना भाइरसबारे सचेतीकरण भइरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सचेतनाका क्रियाकलापलाई अघि बढाएको छ। शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार अस्पतालमा १० वटा बेड व्यवस्थापन गरिएको छ। विशेषज्ञ चिकित्सकसहितको पाँच जनाको कार्यदल गठन गरिएको छ। कोरोना संक्रमणबाट बच्नको लागि आवश्यक सामान मगाइएको छ।

बढि भिडभाड भइरहने कार्यालयका कर्मचारीलाई प्रतिस्थानको सबै नेटवर्कमा कार्यरतलाई सचेतना दिने तयारीमा छ। शिक्षाध्यक्ष थापाले भने,¬‘आन्तरिक रुपमा पनि तयारी गरिरहेका छौँ । बाह्य तयारीलाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ। ’ नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्