RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१८ गते
६३४ पटक

काठमाडौं : संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन भएकामा माथिल्लो सदनका नेताहरूले चिन्ता र दुःख व्यक्त गरेका छन्।

शुक्रबार सुरु राष्ट्रियसभा अधिवेशनमा विभिन्न दलका नेताले सत्तासीन नेकपाभित्रको अन्तद्र्वन्द्वका कारण प्रतिनिधिसभा विघटन हुनु देश र जनताप्रति बेइमानी भएको बताए। सत्तापक्षीय दलका नेता दीनानाथ शर्माले पार्टी विभाजनले आफ्नो ‘मुटु फुटेको’ महसुस भइरहेको बताए। ‘इतिहासमा हामी फुट्यौं होला, जुट्यौं होला’, शर्माले भने, ‘तर आज ठूलो दुःख लागेको छ, पीडा भएको छ। मुटु फुटेको, चिरिएको अनुभव गरेको छु।’

पार्टी फुटेकामा कोही पनि खुसी नरहेको उल्लेख गर्दै शर्माले भने, ‘यहाँ उपस्थित नेता, सांसदहरू कसैले पनि पार्टी विभाजन ठीक हो भन्नुभएको छैन। सबैका अनुहार उदासीन र मलिन छन्।’

उनले पार्टीलाई जोड्न सबैले आ–आफ्नो ठाउँबाट प्रयत्न गर्न पनि आग्रह गरे। ‘अझै पनि हामी एक ठाउँ हुन सक्ने त्यस्ता किसिमका सम्भावना छन्, समीकरण छन्, रसायन छन् भने जोड्न हामी सबैको प्रयत्न गरौँ’, उनले भने। पार्टी एकताका पक्षमा उभिएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई एकताका लागि सफलता मिलोस् भनी शर्माले शुभकामना दिए।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयप्रति स्पष्ट धारणा नराखेका शर्माले प्रतिनिधिसभा विघटन हुनु भने दुःखद भएको बताए। ‘प्रतिनिधिसभा विघटन उचित हो कि होइन, छलफलको विषय छ’, शर्माले भने., ‘पार्टीको आन्तरिक विवादले प्रतिनिधिसभा सहिद हुन पुग्यो। दलीय अन्तद्र्वन्द्वको सिकार प्रतिनिधिसभा हुनु सुखद होइन।’

विपक्षी कांग्रेसका नेता जितेन्द्र देवले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लगेको आरोप लगाए। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक र अप्रजातान्त्रिक भएको दाबी देवले गरे।

‘जनताको त्याग, तपस्या र बलिदानबाट एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने लक्षण आकाशमा मडारिएका छन्’, देवले भने, पार्टीभित्र समस्यामा पर्ने, अनि देशलाई खाल्डोमा जाकिदिने ? देशभक्त, अग्रगमन र जनताको पतिनिधि भन्नेले दुनियाँमा यस्तो काम गर्दै गर्दैन।’

अन्नपुर्ण पोष्ट दैनिकबाट……………

प्रतिकृया दिनुहोस्