RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२० गते
५९४ पटक

सरकारले आगामी वैशाखमा गर्ने घोषणा गरेको मध्यावधि निर्वाचनको बजेट निर्माणको तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले निर्वाचन अवधिभरमा हुने काम र त्यसका लागि आवश्यक खर्चको अनुमान गर्दै बजेट तयार गर्न थालेको हो ।

डेढ साताभित्रै आवश्यक बजेटको अनुमानित विवरण बनाएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी १७ र २७ वैशाखमा मध्यावधि चुनाव गर्ने सरकारकै तयारी छ । चुनाव घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेका छन् ।

उक्त छलफलमा तोकिएको समयमा निर्वाचन गराउन आवश्यक सुरक्षा र बजेटको व्यवस्था गर्न निर्वाचन आयोगले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । छलफलमा उपस्थित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावका लागि बजेटको कमी हुन नदिने बताएका थिए ।

संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अहिले मध्यावधि चुनाव पनि अनिश्चित छ । यद्यपि, आयोगले भने वैशाखमा निर्वाचन हुने मानेर तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । ‘आयोगको काम नै चुनाव गराउने हो, हामीले जुनसुकै वेला चुनाव गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले सरकारले चुनाव घोषणा गरिसकेको सन्दर्भमा आयोगले तयारी थालिसकेको छ ।’

स्रोतको खोजी गर्दै अर्थ मन्त्रालय
घोषणा भएअनुसारको मध्यावधि निर्वाचनका लागि आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोतको जोहो गर्न थालेको छ । निर्वाचनका लागि करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै स्रोत खोज्ने काम भइरहेको अर्थ मन्त्रालयका उच्च अधिकारीले बताए ।

‘प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा पुगेको अवस्था छ, यसर्थ चुनाव हुने–नहुने टुंगो अझै लागिसकेको छैन, तर मन्त्रालयले आफ्नो तयारी गरिरहेको छ,’ उनले भने, ‘आयोगले पनि बजेटको माग गरिसकेको छैन, यद्यपि चुनावमा १८ देखि २० अर्ब रुपैयाँ खर्च हुने अनुमानसहित स्रोतको खोजी भइरहेको छ ।’

निर्वाचनका लागि मतदाता अद्यावधिक, मतदाता परिचयपत्र, मतदाता शिक्षा, मतपत्र छाप्ने, मतदान केन्द्र निर्माण, निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई तालिम, सुरक्षालगायतका शीर्षकमा बजेट चाहिन्छ । यस्ता कार्यका लागि आवश्यक बजेटको अनुमान गर्ने कार्य भइरहेको उनले बताए । ‘अहिले खर्च विवरणसहितको अनुमानित बजेट बनाउने काम भइरहेको छ, हामी खर्च अनुमान गरेर आगामी डेढ साताभित्रै अर्थ मन्त्रालयमा पठाउनेछौँ,’ उनले भने ।

भैपरी र विविध शीर्षकको बजेट निर्वाचनलाई
अर्थ मन्त्रालयले भैपरी आउने चालू खर्च र विविधि खर्च शीर्षकको बजेटलाई निर्वाचनका लागि उपयोग गर्ने तयारी गरिरहेको मन्त्रालयका उच्च अधिकारीले बताए । सरकारले चालू आर्थिक वर्षका लागि भैपरी आउने चालू खर्चअन्तर्गत १० अर्ब ४१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

विविध चालू खर्चअन्तर्गत सरकारले १ अर्ब ७१ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘भैपरी आउने खर्च र विविध खर्च शीर्षकको रकमलाई निर्वाचनमा लैजानेबारे कुरा भइरहेको छ, अन्य स्रोतको पनि खोजी भइरहेको छ,’ उनले भने, ‘सर्वोच्चबाट प्रतिनिधिसभा विघटनको मुद्दा टुंगो लागेर निर्वाचन आयोगबाट माग भएर आएपछि बजेट उपलब्ध गराइनेछ ।’

बजेटको समस्या हुँदैन : अर्थ मन्त्रालय
मध्यावधि निर्वाचनका लागि आवश्यक बजेटको जोहो गर्न मन्त्रालयलाई समस्या नरहेको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठले बताए । ‘आयोगले आफ्नो तयारी गरेको होला, अर्थ मन्त्रालयले पनि आफ्नो तयारी गरेको होला,’ उनले भने, ‘तर, निर्वाचनमा हुने खर्चका लागि आवश्यक बजेट जोहो गर्न कुनै समस्या हुने देखिँदैन ।’ चालू आर्थिक वर्षको बजेटले विनियोजन गरेको विविध, भैपरी आउने र अन्य खर्च शीर्षकलाई निर्वाचनमा खर्च गर्न सकिने उनले बताए । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्