RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२१ गते
६६३ पटक

काठमाडौं । सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो । आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । १६ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री रहेकामा पुस १९ गते २.५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकाले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन,’ उनले भनिन्, ‘त्यसैले सोमबार न्यूनतम तापक्रम बढेको हो ।’

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको थियो । मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

सोमबार जुम्लामा हिमपातसहित २४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यसैगरी वीरेन्द्रनगर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । धनगढीमा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो भने दीपायलमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्