RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२२ गते
१२४८ पटक

नौरते नेपाली …पछिल्लो समयमा फरक सोच राखेर उद्यमशीलता गर्न युवा सक्रिय भएका समाचार आइरहेका बेला जुम्ला गुठीचौर ४ मा ठूलो लगानीका साथ कृषिसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर व्यावसायिक कालिज फर्म खोलिएको छ । उक्त फर्म मासुका लागि भन्दा स्वदेशमै स्वरोजगार सृजना गरि देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्य रहेको संचालक महाकृष्ण पाण्डेले बताउनु भयो । उहाँका अनुसार जुम्लामा लोकल कुखुराकै मूल्यमा कालिजको मासु विक्रि गरी सर्वसाधारणको पहुँचमा पुराउने लक्ष्य रहेको सुनाउनु भयो ।

मासु तथा मासुजन्य वस्तुको उत्पादन गरी ग्रामिण स्तरमा रहेको कुपोषण घटाउने, उच्च हावापानीमा कालिज उत्पादन गरी मासुको गुणस्तर र स्वादमा निखार ल्याउने उद्देश्यका साथ महालक्ष्मी कालिज फर्म स्थापना गरिएको उहाँले जानकारी गराउनु भयो । आगामी तिन वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामिण पर्यटनलाई बढावा दिदै जंगली कालिजको चोरी सिकारलाई कमी गर्नको लागि व्यवसाय सुरु गरिएको उहाँको भनाइ छ ।

जुम्लामै कालिजका चल्ला उत्पादन गर्दे यो फार्म भविष्यमा रिसर्च सेन्टरका रुपमा समेत विकसित गर्ने तयारी रहेको सञ्चालक पाण्डेको भनाइ छ । व्यवसायलाई नयाँ सोच र विचारका साथ कर्णाली प्रदेशको सुर्खेत पछि जुम्लामा  साथी भाइकाे सहयाेगमा १५ लाख रुपैयाँको लागनीमा फर्म स्थापना गरेको पाण्डेले बताउनु भयो । गुठीचौर गाउँपालिका वडा नम्बर ४ बिगारेमा महालक्ष्मी कालिज फर्म खोलिएको हो । सरकारले वन जंगलमा पाइने स्थानीय जातको कालिजको शिकार गर्न र पाल्नसमेत नपाइने भने पनि विदेशी जात र नश्लका कालिज प्रजातीलाई पाल्न अनुमति दिने गरेको छ ।

यसै अनुसार चिनियाँ रिङनेट जातको कालिज पालन शुरु गरिएको पाण्डेले बताउनु भयो । पेशाले निजामति सेवामा आवद्ध रहनु भएका पाण्डेले अहिले फर्ममा रहेका १ सय ५० वटा कालिज मध्ये ४० पोथि र १ सय १० वटा भाले कालिज पालिएका जानकारी गराउनु भयो । कृषि र पर्यटन दुवैलाई सँगै लैजाने अवधारणा अनुरुप व्यवसाय सञ्चालनमा ल्याएको पाण्डले बताउनु भयो ।

सरकारबाट अनुमति प्राप्त अन्य जंगली जनावर र पशुपन्छी समेत पाल्ने योजना रहेको उहाँको भनाइ छ । ग्रामिण पर्यटन प्रवद्र्धन गर्देे कृषि क्षेत्रमा नयाँपन देखाउनको लागि कालिज पालन सुरु गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार गर्मी मौसमा जुम्ला घुम्न आउने देश भित्रका पर्यटकलाई कालिजको स्वाद चखाउनुको साथै जुम्लामा पनि यो व्यवसाय संभव छ भन्ने सन्देश दिने ध्यय रहेको सुनाउनु भयो । वन्यजन्तु र अरु दुर्घटनाबाट जोगाउनका लागि कालिज पालन स्थल माथिबाट जालीले छोपेर कालिज राखिएको छ ।

कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने तथा उत्पादित कालिजको मासुको स्वाद समेत राम्रो हुने भएकाले विशेषज्ञबाट सल्लाह लिई चिसो ठाउँमा फार्म सञ्चालनमा ल्याइएको पाण्डेले बताउनुभयो । २०७६ साल माघ ६ गते फर्म स्थापना गरि २०७७ साल असार १९ गते जुम्लामा कालिज ल्याइएर पालन सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । नेपालकै प्रचलित मूल्य ३५ सयमा फर्मबाट कालिज विक्रि गर्दे आएको पाण्डेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्