RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२२ गते
५३८ पटक

काठमाडौं । बढ्दो राजनीतिक र संवैधानिक संकटबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन अर्को साता भारत भ्रमणको तयारीमा रहेका छन् । संयुक्त आयोगको छैटौं बैठकका लागि भारतले ग्रिन सिग्नल देखाएसँगै परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण तय भएको हो । भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ ।

भारत भ्रमणका क्रममा द्विपक्षीय मुद्दाको विषयमा छलफल हुनेछ, जसमा नेपाल–भारतबीच विवादमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा छलफल हुने बताइएको छ । यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमणलाई लिएर केही अन्योल बढेको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा हुन लागेको संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवाद हल गर्ने विषयमा बैठकमा कुरा राख्ने बताइएको छ । ऐतिहासिक तथ्यका आधारमा भारतसँग सीमा विवाद समाधानको विषयमा छलफल गर्ने जनाएका छन् । संयुक्त आयोगको बैठक नेपाल र भारतबीच देखिएको समस्या समाधानका लागि छलफल गर्न उपयुक्त स्थान हुनेछ ।

संयुक्त आयोग बैठकसँग आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यसैकारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ । परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणपछि नेपाल र भारतका तर्फबाट उच्चस्तरीय भ्रमणको मिति तय हुने सम्भावना रहेको छ ।

राजधानी दैनिकबाट…………………….

प्रतिकृया दिनुहोस्