RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२२ गते
५८६ पटक

काठमाडौँ,  प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ ।

पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् ।

अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो । साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो ।

यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो । आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ ।

यस्तै इजलासले नेपाल बार एसोसिएसनबाट तीन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्न आदेश पनि गरेको थियो । आदेशअनुसार नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र

विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता सङ्गौलालाई एमिकसमा सिफारिस गरेको छ ।

गोरखापत्र दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्