RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२३ गते
५०३ पटक

काठमाडौं । करिब नौं महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिकलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् ।

गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको जनाउँछन् । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जनाउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।

अर्का सेवाग्राही राजु थापा पुरै फर्म भरेपछि कोटा फुल भएको सन्देश दिने प्रणालीप्रति आक्रोश पोख्छन् । ‘कोटा फुल भयो भने सुरुमा भन्नुपर्दैन ? फर्म भरेर सब्मिट गर्ने बेला भन्ने हो ? सिस्टम बनाउँदा सामान्य दिमाग त लगाउनु नि,’ उनी आक्रोश पोख्छन् ।

राजधानी दैनिक

प्रतिकृया दिनुहोस्