RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२३ गते
११६२ पटक

काठमाडौँ — नेकपाका दुवै पक्षमा देखिएको ‘संस्थापन पक्ष’/‘मूल पार्टी’ बनिरहने मोहले पार्टी विभाजनको कानुनी प्रक्रिया नै अन्योलमा परेको छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेको व्यवस्थाअनुसार दलमाथि आधिकारिकताको मागदाबी गर्न कुनै पनि पक्ष निर्वाचन आयोग पुगेका छैनन् ।

नेकपाको लेटरप्याडमा अलग–अलग समूहबाट आयोगमा थरीथरीका पत्राचार भइरहे पनि पार्टी विभाजनलाई प्रक्रियामा लैजाने गरी निवेदन र आधार–प्रमाण बुझाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेयता नेकपा बाहिर देखिने गरी नै विभाजित छ । दुई पक्षले एउटै झन्डा र चिह्न प्रयोग गरेर अलग–अलग कार्यक्रम गरिरहेका छन् । केन्द्रीय कमिटी बैठक अलग–अलग बसेका छन् । एक पक्षले अर्को पक्षका नेताहरूलाई तथानाम आक्षेप लगाउने क्रम चलिरहेको छ । पार्टी फुटेको स्विकार्न भने कुनै पक्ष तयार छैनन् ।

नेकपा विवादलाई नजिकबाट नियालिरहेका राजनीतिशास्त्री भाष्कर गौतम निर्वाचनपूर्व एकढिक्का भएर जाने सन्देश दिएका नेताहरूले यतिबेला त्यसको अपजसबाट बच्न पार्टी फुटको जिम्मेवारी लिन नचाहेको बताउँछन् । ‘दुवै पक्षमा पार्टी फुटको अपजस नलिने मनोविज्ञान हावी छ, फुटको पहिलो कारक आफू होइन भन्ने देखाउन खोज्दै छन्,’ उनले भने, ‘आयोगमा दाबी गर्ने पक्षलाई अपजस जाने भय दुवै पक्षमा देखिन्छ । त्यसैले उनीहरूले सबै सँगै छौं, सानो गुट मात्रै उछिट्टिएको भन्ने सन्देश दिन खोजेका छन् ।’

गौतमले भनेअनुसारै ओलीपक्षका नेता सुवासचन्द्र नेम्वाङ अहिले पनि पार्टी एकढिक्का नै रहेको दाबी गर्छन् । पार्टीमा केही सामान्य हेरफेर मात्रै भएको र सिंगो पार्टी एकै ठाउँमा रहेको उनको दाबी छ । ‘पार्टीमा ओली र पुष्पकमल दाहाल दुई जना अध्यक्ष हुँदै हुनुहुन्छ, महासचिव उही हुनुहुन्छ, वरिष्ठ नेता माधवकुमार नेपाल नै हुनुहुन्छ, कोही पदाधिकारी हटेका छैनन्,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘हामी त, सिंगो पार्टीलाई प्रतिनिधित्व गर्छौं । स्वतः मूल पार्टी छौं । त्यसका लागि आयोगमा दाबी गर्न गइरहन पर्दैन ।’ अलग–अलग कार्यक्रमहरू किन त ? उनले भने, ‘यो अहिले मात्रै भएको होइन, पहिलेकै चलन हो ।’ उनले अरू कोही नेकपामाथि दाबी गर्दै पुग्यो र आयोगले त्यसबारे केही सोध्यो भने आफूहरूले जवाफ दिने बताए ।

कान्तिपुर दैनिकबाट………

प्रतिकृया दिनुहोस्