RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२४ गते
७२० पटक

आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए । पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो । यसअघि अधिकतम शुल्क तोकिएको थिएन । त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कारोबार दैनिकबाट…..

प्रतिकृया दिनुहोस्