RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२६ गते
५४९ पटक

गरुडा,  । बिरुवाको व्यवसाय गरेरै रौतहटको एउटा गाउँ उदाहरणीय बनेको छ । रौतहटको कटहरिया नगरपालिका–३, बिर्ती प्रस्टोकाका स्थानीयले पुस्तौँदेखि रुख बिरुवाको व्यवसाय गरेर वर्षमा २५ करोड रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय गाउँलाई नै नर्सरी गाउँका रूपमा चिनाउने गरी व्यवसाय गर्दा त्यसैबाट आत्मनिर्भर बनेका छन् । बिर्ती प्रस्टोकाका प्रत्येक किसान व्यावसायिक रूपमा नै नर्सरी व्यवसायमा लागेका छन् । नर्सरीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका युवा अन्य पेसा छाडेर नर्सर व्यवसायतिरै लागेका छन् । थोरै लागत र मिहिनेतबाट बढी आम्दानी हुने भएपछि यहाँका युवा नर्सरी व्यवसायतर्फ आकर्षित भएका हुन् ।

हाल बिर्ती प्रस्टोकामा करिब ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाको खेती गरिएको छ । त्यसका साथै धान, मकै तथा कोदो जस्ता अन्नबाली पनि फलाउँदै आएका छन् तर त्यो घट्दो र नर्सरी व्यवसाय नै बढ्दो छ ।

परम्परागत खेतीले वर्षभर खाना नपुग्ने जमिनमा बिरुवा उत्पादन गर्न थालेपछि अहिले अझ राम्रो कमाइ भइरहेको नर्सरी व्यवसायी बताउँछन् । जमिन पनि धेरै आवश्यक नपर्ने र मौसम अनुसारको फलफूलका बिरुवा उत्पादन गरेर बिक्री गर्दा धेरै आम्दानी भएको उनीहरूको भनाइ छ । उनीहरूले तयार पारेका बिरुवा देशका विभिन्न भागमा जाने गरेको छ । नर्सरीबाट करिब पाँच सय मजदुरले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

बिर्ती प्रस्टोकाका किसानले आँप, लिची, कटहर, कागती, सुन्तला, स्याउ, अम्बा, नासपाती, अनार, केरा, टिमुर, अलैँची, ओखर, एभोकाडो, नरिवल, सुपारी, ल्वाङ, अमिलो लगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तै बकाइनो, टाँकी, बडहर, किमु, बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, रुद्राक्ष, रक्तचन्दन लगायका बिरुवा पनि उत्पादन हुँदै आएका छन् । घर सजावटका बिरुवामा अशोक, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते, गुलाब लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुँदै आएको छ ।

बिर्ती प्रस्टोका घर भएका जनता समाजवादी पार्टीका नेता रहनुभएका खेन्हा राय यादवले तीन बिघा खेतमा फलफूल प्रजातिका बिरुवा लगाउनुभएको छ । बिरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपियाँसम्म आम्दानी गर्दै आएको यादवले बताउनुभयो ।
उहाँले सुरुमा नर्सरी तथा फलफूल उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा उहाँले धेरै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँलाई बिरुवा बिक्री गर्न निकै समस्या भयो । यादवले भन्नुभयो, “बिरुवा उत्पादन त भए तर खरिदकर्ता कोही आएन । आफैँ बिरुवा बिक्री गर्न बजार र गाउँघरमा खटिएपछि थोरै बिक्री भए । ” बिरुवा बिक्री नहुँदा यादवले पहिलो वर्ष केही घाटा बेहोर्नु परे पनि हिम्मत भने हार्नुभएन ।

दोस्रो वर्षदेखि ग्राहकको रोजाइमा पर्ने बोट बिरुवा उत्पादन गरेपछि सहजै बिक्री हुन थालेको र यसबाट राम्रो आम्दानी पनि भइरहेको उहाँले बताउनुभयो । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने होइन, मान्छेमा एउटा न एउटा सीप हुने भएकाले उक्त सीपलाई प्रयोगमा ल्याउन सके स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिने उहाँको विचार छ ।

बिर्ती प्रस्टोकाकै विदयानन्द यादवले पनि नर्सरी व्यवसाय गर्नुभएको छ । यादवले व्यावसायिक रूपमा अत्याधुनिक प्रविधिबाट गुणस्तरीय बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा बिक्री गर्दै आउनुभएको छ ।

यादवले यस वर्ष नेपालमै पहिलो पटक वर्षमा तीन पटकसम्म फल्ने र बढी उत्पादन हुने नयाँ प्रजातिका आँप, लिची, कटहर, कागती लगायतका फलफूलका बिरुवा भारतबाट ल्याएर थप उत्पादन गर्न लागेको बताउनुभयो । खर्च कटाएर राम्रै आम्दानी भइरहेको र १० जनालाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनुभयो । नर्सरी व्यवसाय गर्ने तरिकाबारे सात दिनको तालिम लिएर यस व्यवसायमा लागेको उहाँले बताउनुभयो ।

बिर्ती प्रस्टोकाकै अर्का किसान रामध्यान यादवले पनि अन्न र अन्य व्यावसायिक खेतीभन्दा नर्सरी व्यवसायबाट बढी आम्दानी लिन सकिने भएकाले नर्सरी व्यवसाय नै अँगालेको बताउनुभयो । सिजनमा देशका विभिन्न ठाउँका व्यवसायीले बिरुवा लिन गाडीसहित घरमै आउने गरेको उहाँले बताउनुभयो ।

तराईका भन्दा पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको बताइएको छ । आठ वर्षदेखि नर्सरी सञ्चालन गरिरहनुभएको उहाँ बिरुवाबाट गतिलो आम्दानी गरिरहेको बताउनुभयो । यहाँ उत्पादन भएको बिरुवामा रोग कीरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय हुने भएकाले व्यवसाय फस्टाएको उहाँको भनाइ छ ।

युवाहरूले नर्सरीले आफूहरूको जीवनमा परिवर्तन ल्याएको र रोजगारीको खोजीमा बर्सेनि देश बाहिर जानुपर्ने बाध्यता पनि अन्त्य भएको बताए । गाउँमा युवाले बिरुवा उत्पादन गर्न थालेपछि बाहिरबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट मुक्त भएको किसानहरू बताउँछन् ।
विगतमा मजदुरी गर्न भारत जाने बिर्तीका युवाले गाउँमै बसेर नर्सरी व्यवसायबाट नै लाखौँ रुपियाँ कमाएर अन्यलाई पनि रोजगारी दिएको बताउँछन् ।

थोरै लगानीबाट राम्रो फाइदा लिन सकिने भएकाले नर्सरीलाई व्यवसायका रूपमा अपनाएको उनीहरू बताउँछन् । व्यावसायिक नर्सरी खेती गर्दै आइरहेका बिर्ती प्रस्टोकाका किसानले सरकारीस्तरबाट कुनै सहयोग वा सुविधा नपाएको गुनासो गरेका छन् । आफूहरू नर्सरी व्यवसायमै आश्रित रहे पनि स्थानीय, प्रदेश वा केन्द्रमध्ये अहिलेसम्म कुनै पनि सरकारले आफूहरूलाई सहयोग नगरेको दुखेसो गरेका छन् ।
किसानहरूले नर्सरी व्यवसायका लागि सहयोग गर्न सबै तहको सरकारलाई आग्रह गरेका छन् । मलखाद, बीउमा अनुदान, सीप, तालिम आदि उपलब्ध गराउन उनीहरूको माग छ । किसानहरूले बजारको पनि व्यवस्था गर्न माग गरेका छन् । बजारीकारणको व्यवस्था नहुँदा अहिले किसानहरूले बिरुवालाई साइकलमा राखेर बेच्न लानुपर्ने अवस्था छ ।

गोरखापत्र दैनिकबाट……………

प्रतिकृया दिनुहोस्