RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२७ गते
५८५ पटक

सरकारको निर्णय कृषक तथा व्यवसायीको हितविपरीत छ
माधव पराजुली
अध्यक्ष, नेपाल अन्डा उत्पादक संघ, प्रदेश–१
सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्नु भनेको नेपाली कृषकलाई व्यवसाय छोड भन्नुसरह हो । कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्रिएपछि मुलुकको ठूलो जनसंख्याको आयस्रोत गुम्ने प्रस्टै छ । सरकारको यो निर्णयले सञ्चालनमा रहेका कृषिजन्य उद्योग र किसान विस्थापित हुने अवस्था आउँछ । बहुराष्ट्रिय कम्पनीहरूले लगानी गर्दा स्वदेशमा सानो तथा ठूलो लगानीका व्यवसाय पलायन बन्छन् ।

बजार अभावका कारण समय–समयमा समस्या झेल्दै आएको नेपाली कृषि क्षेत्र विदेशी लगानीको सिकार बन्ने अवस्था आउँछ । वैदेशिक रोजगारीबाट फर्केर कृषि तथा पशुपन्छी क्षेत्रमा लाग्ने युवाको संख्या धेरै छ । भोलि गएर उनीहरूको उत्पादन बिक्री नहुँदा सरकारले के गर्छ ? कृषक, व्यवसायी तथा सरोकार क्षेत्रसँग कुनै छलफल र परामर्श नै नगरी किसान र देशको हितविपरीत सरकारले गरेको निर्णयले दीर्घकालीन असर पर्ने देखिन्छ ।

पोल्ट्री व्यवसायकै कुरा गर्दा लकडाउन र कोरोना कहरका कारण बजार नपाएको पोल्ट्री क्षेत्र विदेशी लगानीले धराशायी बन्ने देखिन्छ । नेपाल पोल्ट्री व्यवसायमा आत्मनिर्भर छ । व्यवसायका यहाँका कृषक सक्षम छन् भने यही क्षेत्रमा विदेशी लगानी केका लागि ? यहाँको उत्पादन प्रशस्त भएर बिक्री नभइरहेको समयमा विदेशी लगानीले व्यवसाय ध्वस्त पार्छ ।

प्रदेश–१ मा १० हजार परिवार पोल्ट्री व्यवसायमा आबद्ध छन् भने यस क्षेत्रमा ४ अर्ब लगानी रहेको छ । सरकारले निर्णय फिर्ता नलिए हामी चरणबद्ध आन्दोलनमा जानेछौँ ।

विदेशी लगानी भिœयाउँदा ५० करोड रुपैयाँ उद्योगमा लगानी गर्नुपर्ने र उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने ऐन सरकारले ल्याएको छ । लगानी धेरै रहेकाले उत्पादन पनि धेरै हुने देखिन्छ ।

उत्पादन बढ्दा लागत कम हुने भएकाले यहाँका व्यवसायीले विदेशी लगानीकर्तासँग प्रतिस्पर्धा गर्न सक्दैनन्, जसका कारण उनीहरूको एकलौटी बजार हुने पक्का हुन्छ । नेपालमा काम गरेजस्तो गरेर विदेशी उत्पादनसमेत नेपाल भित्रन सक्ने अवस्था यसले सिर्जना गर्छ । यसको मतलब नेपालमा विदेशी लगानी भित्रिनु हुँदैन भन्ने पक्षमा हामी छैनौँ । सरकारले यसरी नै कृषि तथा पशुपन्छीबाहेक अन्य क्षेत्रमा लगानी भित्र्याउन सक्छ ।
प्रस्तुति : मनीषा चम्लागाईं

कृषिमा वैदेशिक लगानी स्वीकार्य छैन
रामकृष्ण बुढ्थापा
अगुवा किसान, जुम्ला
नेपाल एक कृषिप्रधान देशका रूपमा चिनिन्छ । कृषिबाटै रोजगारी र समृद्धि हासिल गर्ने सामथ्र्य नेपालमा छ । नेपाल आफैंमा कृषिमा आत्मनिर्भर देश पनि हो । मानो छरेर मुरी उब्जनी हुने उर्वर भूमि नेपालमै छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि कृषिबाटै सम्भव छ । किन चाहियो नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानी ? गाउँदेखि सहरका साना तथा ठूला किसान, उद्यमी, व्यवसायीले आफ्नै ऋण जोहो गरेर व्यवसाय सञ्चालन गरेका छन् ।

कृषिमा वैदेशिक लगानी भिœयाउने, उत्पादनको ७५ प्रतिशत उत्पादन बाह्य देशमा निर्यात गर्ने निर्णयले सामान्य किसानलाई मरेतुल्य बनाउँछ ।
फलफूल, जडिबुटी, मौरीपालन, पशुपालन, दुग्ध व्यवसाय लगायतका निजी क्षेत्रले लाखौं–करोडौंको लगानी गरेर आत्मनिर्भरको बाटो लागेको अवस्थामा कुनै सहकार्य, छलफल, परामर्श, भविष्यमा पार्ने असरलगायतका विषयमा छलफल नै नगरी राष्ट्र र आम किसानहरूको राष्ट्रहितविपरीत भएको निर्णय तत्काल फिर्ता गर्नुपर्छ ।

जुम्लाजस्तो कृषिमा आत्मनिर्भर जिल्लामा वैदेशिक लगानीको कुनै अर्थ छैन । यहाँका किसान, व्यवसायी तथा उद्यमीले स्वदेशी लगानीबाटै जीविकोपार्जन गर्दै आएका छन् । लाखौं–करोडौं लगानी गरेका उद्योग–व्यवसाय, कृषि फर्मलाई धराशायी बनाउने गरी वैदेशिक लगानी भिœयाउने गरेको निर्णय जुम्ली किसानलाई मान्य छैन । यो सरासर किसानहरूको शोषण हो । जिउँदै किसानलाई मार्न खोजिँदै छ ।
नेपालमा कृषि पेसा गर्न, किसानको छोरा हुँ भन्न पनि लाज मान्ने परिस्थितिमा दूरदराजका किसानले ऋण जोहो गरेर उद्योगधन्दा, व्यापार–व्यवसाय गरेका छन् ।

सरकारको सुक्को लगानी कुरेका छैनन् । यस्तो जोखिम मोलेर पनि कृषि कर्म गरिरहेका, स्वदेशमै भविष्य खोजिरहेका युवा उद्यमीलाई वैदेशिक लगानी भिœयाउने निर्णयले हतोत्साहित गरेको छ । त्यसैले पनि कृषिमा वैदेशिक लगानी आवश्यक छैन । स्वदेशमै केही इलम गर्न खोजिरहेकालाई यस्ता निर्णयले पलायन हुनुपर्ने बाध्यता हुन्छ ।

चालू आवमा मात्रै जुम्लामा करिब ३१ करोड लगानीका उद्योग दर्ता भएका छन् । जसमा २९ करोड लगानीका २ सय ९७ कृषि तथा फलफूलजन्य उद्योग छन् । प्रतिउद्योग १० लाखभन्दा बढी लगानी गरी स्वदेशमै भविष्य खोजिरहेकालाई हातमुख धुने स्थिति सिर्जना गर्नु सरकारले किसानप्रति निर्मम बन्नु हो । त्यसैले किसानको हितविपरीत कृषिमा वैदेशिक लगानी भिœयाउने निर्णयलाई फिर्ता लिन जुम्ली किसानहरूका तर्फबाट जोडदार माग गर्छु । अन्यथा केन्द्रदेखि जिल्लास्तरसम्म किसान, उद्यमी अगुवाले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्नेछन् ।

किसानका हितविपरीत कृषिमा वैदेशिक लगानी भिœयाउने निर्णयको विरुद्धमा केन्द्रदेखि जिल्लाका उद्योगी–व्यवसायीहरुरूले निरन्तर विरोधका कार्यक्रम गर्नुपर्छ । कृषिमा वैदेशिक लगानीले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पार्ने कुरा थाहा हुँदाहुँदै पनि किसानको छातीमा लात हान्ने गरी भएको प्रयासप्रति सबै किसान उद्यमी कडा भएर अघि बढ्न आवश्यक छ ।

उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन सोमबार राजपत्रमा प्रकाशित गरिसकेको अवस्था छ ।
प्रस्तुति ः सागर परियार

सामान्य उद्यमी, किसान मरेतुल्य हुन्छन्
राजबहादुर भक्री
अगुवा किसान, जुम्ला
नेपाली किसानले समयमै मल, बीउ, सिँचाइ पाउँदैनन् । घामपानी, असिनाको पीडा खेप्दै कृषि कर्मलाई अगाडि बढाइरहेका छन् । तर सरकारसँग कहिले झुकेको अवस्था छैन । चालू आवमा मात्रै जुम्लामा सयौं उद्योग दर्ता हुनुले कृषिमा आधारित स्वदेशी लगानी बढ्दै गएको पाइन्छ ।

जुम्लाको कुरा गर्नुपर्दा स्याउ, सिमी, ओखर, मार्सी धान उत्पादन गर्ने किसान, कृषि उद्यमीलाई सरकारले अपेक्षाअनुसार खास्सै सहयोग गरेको अवस्था छैन । तर आफ्नै लगानीबाट उद्यमशिलतामा जुटिरहँदा पनि वैदेशिक लगानी भिœयाएर नेपाली कृषि क्षेत्रलाई धराशायी बनाउने निर्णय किसानदेखि उद्यमीलाई मरेतुल्य बनाउनेमा दुईमत छैन ।

म कृषि क्षेत्रमा स्वदेशी पुँजी नै लगानी गर्नुपर्ने कुरामा जोड दिन्छु । विदेशी लगानी भिœयाउन करोडौं लगानी गर्नुपर्ने, उत्पादनको ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तमा सामान्य किसान उद्यमी सहमत कदापि हुने स्थिति छैन । यहाँका किसान आफ्नै स्वतन्त्र रूपमा व्यवसाय गर्न चाहन्छन् ।

उद्यमीको मनोकांक्षा विपरीत नै गरिएको निर्णयविरुद्ध सबै एकजुट हुनुपर्ने बेला भएको छ । भलै जुम्लामा आफ्नै लगानीबाट साना उद्योग व्यवसाय सञ्चालन छन् । तर, ठूला–ठूला सहरमा करोडौं, अर्बौं लगानी गरेका उद्योगलाई धराशायी बनाउने भए पनि वैदेशिक लगानीको निर्णय फिर्ता हुनुपर्छ भन्ने मेरो भनाइ छ ।

स्वदेशी लगानीमा फस्टाउँदै गरेको फुलफूल उद्योग, पशुपालन, माछापालन, मौरीपालन, कुखुरापालनलगायतका व्यवसाय फस्टाएका छन् । वैदेशिक लगानीले स्वदेशको सबै लगानी जोखिममा पर्छ । त्यसैले तत्काल कृषिमा वैदेशिक लगानी भिœयाउने निर्णय फिर्ता लिन जोडदार माग गर्छु ।

स्वदेशी उद्योग र किसानलाई सुविधा नदिने तर विदेशी उद्योगलाई प्रमोट गर्ने निर्णयले नेपालका किसान तथा उद्यमी मरेतुल्य हुन्छन् । नेपालमा कृषिका सम्भावना पर्याप्त भए पनि आवश्यक कच्चा पदार्थ उत्पादन तथा प्रशोधनको अभावले कृषि सम्भावना अवसरमा बदलिएको अवस्था छैन ।

वैदेशिक लगानी भित्र्याएर किसानलाई मार्नुभन्दा कृषिबाट रोजगार तथा आर्थिक समृद्धि हुने खालका नयाँ योजनामा लगानी गर्न सरकारलाई विशेष अनुरोध गर्छु ।
प्रस्तुति : सागर परियार

करोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्