RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२८ गते
५०४ पटक

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।

प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।

पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले प्राविधिक वा मनोवैज्ञानिक रूपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउनुपर्ने बताए । यस्तै प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले पनि नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर विद्युत् आपूर्तिको समस्या समाधान नभए आवश्यक कारबाही हुने बताए ।

प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवं पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको दाबी गरे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रूपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई अनुभूति गर्न सकेका छैनन् । उपभोक्ताले विद्युत् गइरहने चर्को समस्या भोग्नुपरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौं उपत्यकाका १० वितरण केन्द्रका प्रमुखको उपस्थिति थियो । मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणका पदाधिकारीको भनाइ छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ । ती काम पूर्ण रूपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

सर्ट डाउनको अवस्था
प्राधिकरणको तथ्यांकअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा गत मंसिरमा ३७ पटक बत्ती जाने आउने (ट्रिपिङ) भएको थियो । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मं्िसरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो । गत वर्ष योभन्दा बढी समस्या भए पनि अहिले समस्यालाई बढी उचालिएको प्राधिकरणको दाबी छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्