RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२९ गते
५४२ पटक

लमजुङ-उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका ५ घेर्मुमा पहिलोपटक मोटर पुगेको छ । अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीयले आफैँले अस्थायी मोटरेबल पुल निर्माण गरी पहिलोपटक चारपाङ्ग्रे सवारी पु-याएका हुन् । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साविक घेर्मु दशकौं अघिदेखि वाह्य पर्यटकको आगमन हुने क्षेत्र भए पनि हालसम्मसडक सञ्जालमा जोडिएको थिएन ।

स्थानीय नरबहादुर गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका स्थानीयले सहयोग रकम उठाएर मस्र्याङ्दी नदीमा अस्थायी मोटरेबल पुल निर्माण गरेका हुन् ।
स्थानीयले बनाएको अस्थायी पुल स्थानीय वयोवृद्धाद्वय कुमाल्स्यो गुरुङ र दिलमाया गुरुङले संयुक्त रूपमा उद्घाटन गरेपछि घेर्मुमा सोमबार पहिलोपटक ग १ ज ६७९५ नं. जिप पुगेको हो ।

पहिलोपटक मोटर पुगेसँगै स्थानीय आमा समूहले सवारी चालक तिलक खत्रीलाई अबिर तथा फूलमाला लगाएर स्वागत गरेका थिए । मस्र्याङ्दी गाउँपालिका वडा नं ४ ताघ्रिङ र वडा नं. ५ घर्मु जोड्ने मस्र्याङ्दी नदीमा विगतका वर्षहरूदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटर पुल निर्माण गरेका हुन् । स्थानीयले रकम संकलन गरी स्थानीय मेगबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी पुल निर्माणको काम सम्पन्न गरेको जनाइएको छ ।

अस्थायी पुलको उद्घाटन र पहिलोपटक गाउँमा आएको मोटरलाई स्थानीयले औपचारिक कार्यक्रम गरी स्वागत गरेका थिए । कार्यक्रममा अस्थायी मोटरेवल पुल निर्माणका अभियान्ता नरबहादुर गुरुङले अहिलेको युगमा पनि साविकको सिंगो गाविस सडक सञ्जालले नजोडिदा स्थानीयले निकै सास्ती खेप्नु परेको दुःखेसो गरे । मुलुकमा धेरै राजनीतिक परिवर्तन भए पनि गाउँको विकासका लागि भने कोही कसैको चासो नहुँदा आफ्नो गाउँ पछाडि परेको भन्दै आफ्नो गाउँको विकासका लागि आफैँ सक्रिय हुनुपरेको धारणा व्यक्त गरे ।

“मुलुकमा धेरै राजनितिक परिवर्तन भए, नेताहरूको स्वार्थका लागि धेरै आश्वासन पाइयो,” गुरुङले भने, “तर हाम्रो दुःख जहाँको तहिँ भयो, अहिलेको युगमा पनि कोहि विरामी हुँदा स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता छ ।” स्थानीयले दुई लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च गरेर पुल निमार्ण गरेका हुन् । अस्थायी पुल निमार्णका लागि स्थानीयबाट चन्दा संकलन र देशविदेशमा रहेका व्यक्तिबाट सहयोग गरी कुल चार लाख ६६ हजार १६ रूपैया संकलन भएको थियो । पुल निर्माण गरी बाँकी रकम पुलको मर्मतसम्भार तथा अस्थायी पुल भएकाले अर्को वर्ष पुल निमार्णकै लागि बचत गरी राखिने उपभोक्ता समितिका सचिव घनश्याम घलेले बताए ।

हाल निर्माण भएको अस्थायी पुल मस्र्याङ्दी नदीको बहाव नवढेसम्मका लागि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । प्रायः जेठसम्म नदीको बहाव कम हुने भएकोले करिव पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिनेछ । नदीमा स्थायी रूपमा पक्की पुल नवनेसम्म स्थानीयले अस्थायी पुल निमार्णलाई निरन्तरता दिने जनाएका छन् । अस्थायी पुल निर्माण भएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानीगाउँका स्थानीय समेत लाभान्वित भएका छन् । हिउँदमा मात्रै भए पनि स्थानीयले यातायात तथा ढुवानी सेवा उपभोग गर्न पाउने भएका छन् ।कारोबार दैनिकबाट ………………

प्रतिकृया दिनुहोस्