RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१ गते
५७२ पटक

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७-७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पु-याइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ११ दशमल ८ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि यस अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटे पनि मुलुकमा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढेसँगै रेमिट्यान्सको वृद्धिदर झन् बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूका अनुसार कोरोना महामारी पछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो । राजधानी दैनिकबाट …………………..

प्रतिकृया दिनुहोस्