RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१ गते
५१३ पटक

सुर्खेत-कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतम एकै पटक साढे दस करोड लगानी गरेको छ । चालु आर्थिक वर्षमा कृषिका विभिन्न कार्यक्रमका लागि साढे दस करोडभन्दा बढी रकम लगानी गरेको हो ।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले दश करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । कृषि उत्पादन बढाउन प्रदेश सरकारले सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ४४ वटा सिँचाइ कुलो निर्माण गर्न थालेको छ ।

सांसद विकास कार्यक्रम अन्तरगत सिँचाइ कुलो निर्माण गर्न लागिएको हो । कुलो निर्माणका लागि सबै स्थानीय तहमा योजना छनौट भइसकेका छन् । सिँचाइ कुलो बनेपछि कृषि उत्पादनमा सुधार आउने र उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै बीउको उत्पादनका लागि पनि ठूलो रकम लगानी गरिएको छ । निर्देशनालयका चित्रबहादुर रोकायका अनुसार केराउ, रायो जस्ता तरकारीको बीउ उत्पादनका लागि २५ लाख, धान, मकै, गहुँ, कोदो, फापर, आलु तथा तरकारीको बीउ उत्पादनका लागि ५५ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै कर्णालीको ब्राण्ड निर्माणदेखि प्रांगारिक कृषि उत्पादनको बजारीकरण गर्न दस लाख ५० हजार, अर्गानिक मिसन कार्यक्रमका लागि ८५ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा मात्रै तीन करोड ८६ लाख ५० हजार रुपैयाँ लगानी गरिने भएको हो । कृषि व्यवसाय प्रबद्र्धनका ३५ वटा कार्यक्रमका लागि ६५ लाख, १० वटा लक्षित वर्ग विशेष कार्यक्रमका लागि एक करोड, तीन वटा व्यावसायिक वर्षे फलफूल नर्सरी श्रोत केन्द्र स्थापनका तीन वटा कार्यक्रमका लागि २१ लाख लगानी गर्न लागिएको छ ।

त्यस्तै ५० प्रतिशत सहुलियत व्यावसायिक तरकारी खेतीका ४३ वटा ठूला ग्रिन÷नेट हाउस निर्माणका लागि ३० लाख, च्याउको बीउ उत्पादनका लागि मेसिन खरिद तथा टनेल निर्माणका लाग १५ लाख र अनुदानमा हाते ट्याक्टर÷पावर टेलर÷थ्रेसर मेसिन खरिदका लागि ३० लाख लगानी गर्न लागिएको निर्देशनालयले जनाएको छ ।

कृषि पर्यटकीय क्षेत्र निर्माण तथा पुष्पखेती सुदृढीकरणका लागि पाँच लाख, सहकारी नमूना गाउँ विकास कार्यक्रमका लागि १० लाख, गोठ तथा प्रांगारिक मलको स्रोत २० लाख, चक्लाबन्दी खेती प्रोत्साहन लागि ५० लाख, कृषिमा आधारित साना उद्योग स्थापना तथा सञ्चालनका लागि १० लाख र शितभण्डार तथा चिस्यान केन्द्र निर्माणका लागि ४८ लाख लगानी गरिने भएको छ ।

गरिव किसान सरकार हातेमोले कार्यक्रमका लागि १० लाख, मुख्य तथा सहायकरोड करिडोर तरकारी प्रबद्र्धनका लागि १० लाख, कृषि बाली वस्तुको प्रबद्र्धनका लागि १५ लाख, नमूना फलफूल पकेट क्षेत्र विकास कार्यक्रमका लागि २० लाख, कागती, सुन्तला,

जुनार, किबी, ओखर, लिची, अम्बा जस्ता फलफूल खेती प्रबद्र्धनका लागि २८ लाख, दलित तथा अति विपन्न वर्ग लक्षित विशेष कार्यक्रमका लागि एक करोड, कृषि शिक्षा अध्ययन गरेका, विदेशबाट फर्केका, महिला तथा अपाङहरुलाई स्वरोजगार बनाउनका लागि ६५ लाख र अर्गानिक मिसन कार्यक्रमका लागि ९७ करोड लगानी गरिने निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेखित आयोजनाको लागि अधिकांश आयोजनाहरुले काम सुरु भइसकेको निर्देशनालयका निमित्त निर्देशक केसीले जानकारी दिए ।

२२ वटा गाउँलाई पकेट क्षेत्र बनाइँदै
कृषि क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विभिन्न २२ वटा गाउँलाई कृषि पकेट क्षेत्र बनाउन थालेको छ । जसका लागि तीन करोढ ८१ लाख ५० हजार रुपैयाँ खर्चिन लागिएको हो ।

जहाँ प्याजदेखि मौरीपालन जस्ता कार्यक्रमहरु गरिने छ । कृषि विकास निर्देशनालयका अनुसार सुर्खेतको भेरीगंगा–४ हर्रे, गुर्भाकोटको मेहलकुना, पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर वडा नं. ३ र ९ लाई तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गरिने छ ।

त्यस्तै छिन्चुलाई आलु उत्पादन क्षेत्र र बराहतालको तेलपानी क्षेत्रलाई आलुको बीउ उत्पादन क्षेत्रमा पकेट क्षेत्र बनाइने छ । लेककेसीको मंगले, आरनन्टुडा, गुर्भाकोटको मालारानी र सहारे क्षेत्रलाई प्याज उत्पादनका लागि पकेट क्षेत्र बनाइने छ ।

त्यस्तै वीरेन्द्रनगरको वडा नम्बर १२ लाई मौरीपालन क्षेत्र, वडा नं. ३, १०, ११ र १२ लाई च्याउ उत्पादन क्षेत्र, चिङ्गाड र सिम्तालाई मकै उत्पादन क्षेत्र, बराहतालको ओदालताल, चौकुने गाउँपालिकाको वडा नं. ९ र १० लाई बदाम उत्पादन क्षेत्र, भेरीगंगाको सत्तरी र काल्पानीलाई केरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

सिम्ता गाउँपालिकाको वडा नं. ५, ७ र ९, गुर्भाकोट नगरपालिकाको वडा नं. ९ लाई धान उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ । सिम्ता गाउँपालिलाई अदुवा तथा बेसार उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ । उल्लेखित क्षेत्रका विशेष पकेट क्षेत्रका रुपमा विकास गर्न टनेल निर्माण, सिँचाइ कुलो, उन्नत बीउ वितरण, प्राविधिक सल्लाह, चक्लाबन्दी र कृषक सामग्री वितरणका कार्यक्रम हुनेछन् ।

करोबार दैनिकबाट………

प्रतिकृया दिनुहोस्