RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/६ गते
६५६ पटक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका धनी देशहरूलाई आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले मलाई पहिला भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने भन्दै लाइन नमिच्न आग्रह गरेका हुन् ।

त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनको चेतावनी छ । असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै उनले अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए । कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ ।

उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् । सोमबार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ- विश्व नैतिक विफलताको डिलमा पुगेको छ, अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’ संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन् । ‘मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड–१९ का खोप लगाउन थालियोस् भन्ने छ । जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्,’ डा टेड्रोसले भने ।

हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् । यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस् । यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन् । –बीबीसी

प्रतिकृया दिनुहोस्