RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/६ गते
४८० पटक

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या औषतमा साढे ८३ प्रतिशतले घटेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ८३.४६ प्रतिशतले घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिनेको संख्या ७६ प्रतिशत र संस्थागत तथा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० प्रतिशतले घटेको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या गत वर्षको १ लाख ५३ हजार २ सय ७७ बाट ९० प्रतिशत घटेर चालू आवमा १५ हजारमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १ लाख ३३ हजार ४ सय ७४ बाट ८३ प्रतिशतले घटेर चालू आवको ६ महिनामा ३२ हजार ३ सय ७३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

विश्वव्यापी कोरोना संक्रमणका कारण वैकल्पिक रोजगारीको रूपमा रहेको वैदेशिक रोजगारीको मागमा आएको कमीका कारण अन्तिम श्रम स्वीकृति लिनेको संख्या विगत ६ महिनामा ४७ हजारमा सीमित भएको छ । यो संख्या नयाँ र पुनः श्रम स्वीकृतिको संख्या हो । श्रम स्वीकृति लिएकामध्ये पनि ८० प्रतिशतभन्दा बढी बिदामा आएका श्रमिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो संख्या रोजगारीका लागि विदेश जान विभागबाट श्रमिकले लिएको श्रम स्वीकृतिको संख्या हो । वैदेशिक रोजगारीका नयाँ श्रमिक जाने क्रम शतप्रतिशत कमी आएका कारण अबका केही महिनापछि आउने रेमिट्यान्समा असर देखिने छ ।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि नेउपानेले कोरोना संकटका कारण रोजगारदाताले थप श्रमिकको माग नगरेको र भएका श्रमिक पनि उडान नियमित नहुँदा रोजगारीमा जाने संख्या घटेको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ कोरोना संकटमा स्वदेशमा समेत रोजगारीको अवसर नभएको अवस्थामा सरकारले वैदेशिक रोजगारीलाई अझ सहजीकरण गर्नुपर्ने बताए । नयाँ मागपत्र प्रमाणीकरण गर्ने विषयमा समेत श्रम गन्तव्यका लागि नेपाली नियोग र सरकारले अग्रसरता देखाएका छैनन् ।

सरकारको नीतिका कारण विदेशबाट आएका नयाँ मागसमेत गुम्ने अवस्थामा पुगेको छ । मलेसियाले तत्काल विदेशी श्रमिक माग गर्ने जनाएको भए पनि संकटमा सबैभन्दा कम श्रमिक भने मलेसिया नै गएको देखिन्छ । चालू आवको ६ महिनामा कतार, साउदी अरब, यूएईमध्ये सबैभन्दा कम श्रमिक मलेसिया गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा एक्कासि कमी आएको हालसम्म कै यो नै पहिलो घटना हो । १० वर्षअघि आव ०६७÷६८ मा समेत यो अवधिमा ३० हजार नेपाली युवा रोजगारीमा गएको देखिन्छ । वैकल्पिक रोजगारीको रूपमा मानिँदै आएको वैदेशिक रोजगारीमा मासिक औषत ४० हजारको संख्यामा नेपाली युवा विदेश जाने गरेका थिए । कोरोना संक्रमणका कारण रोजगारदाताले कर्मचारी कटौती गरेकाले त्यसको असर नेपालको रोजगारीमा परेको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये बिदामा आएको संख्या लगभग ८० प्रतिशतको हाराहारी हुने भए पनि यो वर्ष भने संख्या अझ घटेको छ । नेपालका प्रमुख ४ श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्कनेको संख्या १ लाख ९६ हजारभन्दा बढी पुगेको छ भने रोजगारी गुमाउनेको संख्या बढदै गइरहेको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी यूएईमा रहेका नेपालीले रोजगारी गुमाएको देखिन्छ ।

करोबार दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्