RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/७ गते
५४६ पटक

१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको वाइडबडी–३३० विमान मलेसिया जाने भएको छ । मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेबमोजिम ती शव स्वदेश ल्याउन निगमको विमान पठाउन लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जनवरी २१ मा मलेसियाको क्वालालम्पुर जाने निगमको नियमित उडानलाई एक दिन सारेर जनवरी २२ मा काठमाडौं–क्वालालम्पुर उडान गरी २३ मा १८ शव स्वदेश फिर्ता हुने गरी उडान तालिका मिलाइएको निगमले जनाएको छ । क्वालालम्पुर–काठमाडौंमा भने २५० जना यात्रु छन् ।

ठूलो संख्यामा वैदेशिक रोजगारीको सिलसिलामा गएर मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउनुपर्ने माग भएबमोजिम निगमले नियमित उडान गरिरहेको न्यारोबडी–३२० विमानको साटो वाइडबडी–३३० पठाउन लागिएको निगमले जनाएको छ ।

३२० विमानबाट दुई वटामात्र शव कार्गाे गर्न मिल्ने भएकाले विमानको अधिकतम लोड क्षमतालाई उपयोग गर्दै शव ल्याउन अनुरोध भएअनुसार निगमले वाइडवडी–३३० विमान मलेसिया पठाउन लागेको हो ।

निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत खाली विमान पठाएर त्यहाँ रहेका यात्रुसहित शव स्वदेश ल्याउन सैद्धान्तिक सहमतिका लागि निगमले मन्त्रालयमा पत्राचार गरेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९का कारण प्रभावित हुँदा काठमाडौं–क्वालालम्पुर उडान संख्या कम छ । निगमले हप्ताको ३ उडान न्यारोवडी–३२० र हिमालयन एयरलाइन्सप उडान गरिरहेको छ ।

कोभिड–१९ का कारण नियमित उडान नहुनु र भएका उडान पनि कम संख्यामा हुँदा विदेशमा रहेका नेपालीको शव व्यवस्थापनमा समस्या परेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । मलेसियामा दैनिकजस्तो नेपालीको मृत्यु हुने गरेको छ ।

उडान तालिका प्रभावित हुँदा मलेसियामा नेपालीको शव व्यवस्थापनमा समस्या परेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमार्फत् कारोबारलाई बताए । “कोभिड–१९का कारण क्वालालम्पुर–काठमाडौं कम उडान हुँदा र केही विमान कम्पनीको उडान तालिका प्रभावित हुँदा शव स्वदेश पठाउन समस्या परेको हो ।”

कारोबार दैनिकबाट……………..

प्रतिकृया दिनुहोस्