RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/८ गते
६२४ पटक

अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार क्यापिटल हिलमा शपथग्रहण गरेका छन् । ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा अबको चार वर्ष ह्वाइटहाउसमा रहनेछन् । उनी पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए ।

बाइडेनसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा शपथ लिइन् । कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बनेकी छिन् । उनी ४९औँ उपराष्ट्रपति बनिन् ।

क्यापिटल हिलमा नेपाली समयअनुसार बुधबार राति १०ः४५ बजे सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले राष्ट्रपति र उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए । सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ । सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएको सिबिएस न्युजले जनाएको छ ।

बाइडेनले शपथपछि कोभिड– १९ बाट ज्यान गुमाएकाप्रति मौनधारण गरेका थिए । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलाले शपथ समारोहमा सहभागी हुनुअघि चर्चमा प्रार्थना गरेका थिए ।

शपथग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भएनन् । राष्ट्रपतिको शपथमा सहभागी नहुने उनी चौथो राष्ट्रपति हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ कार्यक्रममा थोरै पाहुनालाई मात्र निम्तो दिइएको थियो । यसमा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लू बुस, बाराक ओबामा र बिल क्लिन्टन उपस्थित भए । यसैगरी निवर्तमान उपराष्ट्रपति माइक पेन्सले पनि शपथ कार्यक्रममा भाग लिए ।

८० प्रतिशत भर्चुअल कार्यक्रमका रूपमा भएको शपथमा पपस्टार लेडी गागाले राष्ट्रिय गानको प्रस्तुति दिएकी थिइन् । गागाले चुनावी अभियानमा बाइडेनकै पक्षमा प्रचारप्रसार गरेकी थिइन् । शपथ कार्यक्रमअघि भएको सांस्कृतिक कार्यक्रममा गायक जेनिफर लोपेज तथा गार्थ ब्रक्सले प्रस्तुति दिए ।

डेमोक्रेटिकबाट निर्वाचित भएका बाइडेनले डोनाल्ड ट्रम्पलाई सर्वाधिक तथा इलेक्टोरल कलेज भोटिङमा पराजित गरेका थिए । अमेरिकामा राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल भोटिङ आवश्यक पर्छ । बाइडेनले इलेक्टोरल भोटिङमा तीन सय ६ तथा ट्रम्पले दुई सय ३२ इलेक्टोरल कलेज भोटिङ पाएका थिए । यसअघि उनीले १९८७ तथा २००८ को राष्ट्रपति निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए । त्यसवेला पार्टीबाट आवश्यक समर्थन प्राप्त गर्न नसक्दा उनी राष्ट्रपतिको दौडबाट बाहिरिए । बाराक ओबामा दुईपटक अमेरिकाको राष्ट्रपति हुँदा बाइडेन दुवै अवसरमा उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई अहिलेसम्मकै उत्कृष्ट उपराष्ट्रपति भन्ने गर्छन् ।

६ जनवरीमा क्यापिटल हिलमा ट्रम्प समर्थकले हिंसात्मक गतिविधि गरेपछि वासिङ्टनमा कडा सुरक्षा व्यवस्था पारेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार ह्वाइटहाउस र क्यापिटल हिलको सुरक्षार्थ २५ हजार सैनिक खटिएका छन् ।

आफ्नो जितलाई राष्ट्रपति जो बाइडेनले लोकतन्त्रको जितका रूपमा अथ्र्याएका छन् । ‘यो अमेरिकाको दिन हो, लोकतन्त्रको दिन हो, इतिहास र आशाको दिन हो । अमेरिकाको कैयौँपटक परीक्षा भएको छ र उसले सधैँ चुनौतीको सामना गरेको छ । आज हामी एउटा उम्मेदवारको जितको खुसी मनाएका छैनौँ, बरु लोकतन्त्रका लागि खुसी मनाइरहेका छौँ,’ बाइडेनले भने । बाइडेनले अमेरिकाको नयाँ इतिहास लेख्ने पनि बताए । ‘हामीले धेरै गर्नुपर्नेछ । हामी सबै मिलेर अमेरिकाको इतिहासको महान् अध्याय लेख्नेछौँ । हामीले यसो ग¥यौँ भने आउने पिँढीका राम्रो गरेको मानिनेछ । संविधानको रक्षा गर्नेछु, लोकतन्त्रको रक्षा गर्नेछु, अमेरिकाको हित गर्नेछु,’ उनले भने, ‘हामीले अमेरिकाको नयाँ इतिहास लेख्ने हो, जुन डरको होइन आशाले भरिएको हुनेछ ।’ उनले अमेरिकामा शान्तिपूर्ण सत्ता हस्तान्तरणको इतिहास रहेको भन्दै ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको निन्दा गरे ।

उनले अहिलेजस्तो अवस्था अमेरिकाले विश्वयुद्धकालमा समेत नदेखेको बताए । ‘हामी राम्रो मानिस हौँ । हामीले लामो यात्रा तय गर्नु छ । हामीले धेरै गर्नु छ । धेरै बनाउनु छ, धेरै हासिल गर्नु छ । अहिलेजस्तो कठिन अवस्था अमेरिकाले यसअघि कहिल्यै देखेको थिएन । दोस्रो विश्वयुद्धमा पनि देखेन,’ उनले भने, ‘लाखौँ नोकरी गए, कारोबार बन्द भए । चरमपन्थ, ह्वाइट सुप्रिमेसी, आतंकवादजस्ता कुरालाई हामीले परास्त गर्नेछौँँ । अमेरिकाको भविष्य तय गर्नका लागि शब्दभन्दा अगाडि बढेर धेरै गर्नुपर्ने अवस्था छ । एकजुट रहने र एकता बनाउन जरुरी छ ।’

उनले आफूले शक्तिका बलमा होइन, उदाहरणीय रूपमा सत्ता चलाउने बताए । राष्ट्रपति बाइडेनले शपथपछिको भाषणमा घुमारो रूपमा डोनाल्ड ट्रम्पका समर्थकलाई चिच्याउन बन्द गर्न आग्रह गरे । ‘तपाईंहरू चिच्याउन बन्द गर्नुस् र तापक्रम पनि कम गर्नुस्,’ उनले भने ।

बाइडेनले अमेरिकाको विकासका लागि सबैको साथ र एकता चाहिने बताए । ‘एकताविना शान्ति र विकास सम्भव छैन,’ उनले भने, ‘अमेरिकाको महानताका लागि एकता आवश्यक छ,’ उनले थपे, ‘अवसर, सुरक्षा, गरिमा र सत्यको सम्मान हुनुपर्छ । सत्ता र मुनाफाका लागि झुट बोलिन्छ । नेता त्यसैले संविधानको शपथ लिन्छन्, ता कि सत्यलाई साथ दिन र झुटलाई परास्त गर्न ।’

बाइडेनले अमेरिकी इतिहासमा पहिलो उपराष्ट्रपतिसँगै शपथ लिँदा गौरवान्वित भएको बताए । ‘आज हामी अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ ग्रहण गर्दछौँ,’ बाइडेनले भने ।

ट्रम्पले भने– म कुनै पनि रूपमा फर्कन सक्छु

बाइडेनको शपथसँगै निवर्तमान राष्ट्रपति बनेका ट्रम्प फ्लोरिडामा पुगेका छन् । उनी एयर फोर्स वान विमानमा सवार हुँदै फ्लोरिडा पुगेका हुन् । फ्लोरिडामा विमान अवतरण भएपछि एयर फोर्स वान ४६औँ राष्ट्रपति बाइडेनले प्रयोग गर्नेछन् । अबको केही दिन फ्लोरिडामा ट्रम्प आफ्नो पामबिचस्थित मार आ लागो रिसोर्टमा बस्नेछन् । ह्वाइटहाउसबाट सपरिवार बाहिरिनुअघि ट्रम्पले आफ्ना समर्थकबीच फेयरवेल भाषण दिएका थिए ।

आफ्नो भाषणमा ट्रम्पले नयाँ निर्वाचित राष्ट्रपति बाइडेनको एकपटक पनि नाम लिएनन् । ट्रम्पले चार वर्षको कार्यकालको समीक्षा पनि गरेको बिबिसीले जनाएको छ । सो भाषणमा ट्रम्पले अधिकांश समय आफ्नो काम र निर्णयकै मात्र प्रशंसा गरेका छन् । उनले अहिलेसम्म अमेरिकी राष्ट्रपतिले गर्न नसकेको काम गरेको दाबी गरेका छन् । राष्ट्रपति बन्नु नै अमेरिकामा पाउने सबैभन्दा ठूलो सम्मान भएको ट्रम्पले आफ्नो भाषणमा बोलेका छन् ।

ट्रम्पले कोरोना भाइरसविरुद्ध उत्कृष्ट काम गरेको जनाएका छन् । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्नु नै ठूलो सफलताका रूपमा रहेको उनले बताएका छन् । उनले भने, ‘मैले कोरोनाविरुद्ध जे रणनीति अपनाएको थिएँ त्यो चमत्कार भन्नुपर्छ, अमेरिकाले भ्याक्सिन निकाल्न सफल भयो, यसैलाई चमत्कार मान्नुपर्छ,’ उनले भने । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण चार लाख व्यक्तिको निधन भएको छ । ट्रम्पले भ्याक्सिन बनाउन सामान्य आठ वा नौ वर्ष लाग्ने जनाउँदै अमेरिकाले नौ महिनाभित्र नै बनाएको बताएका छन् ।

‘सामान्य हिसाबले भ्याक्सिन बनाउन कम्तीमा नौ वर्ष लाग्छ, तर हामीले यो काम नौ महिनाभित्र नै गर्न सफल भयौँ,’ आफ्नो कार्यकालको स्वयं प्रशंसा गर्दै ट्रम्पले भने, ‘म सधैँ अमेरिकी जनताकै पक्षमा लड्ने व्यक्ति हुँ ।’ जाँदाजाँदै ट्रम्पले आफू कुनै पनि रूपमा ह्वाइटहाउसमा फर्कन सक्ने चुनौती दिएका छन् । भन्छन्, ‘म एक दिन ह्वाइटहाउस फर्कनेछु, त्यो कुनै पनि रूपमा हुन सक्छ ।’नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्