RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१० गते
५०६ पटक

काठमाडौँ, माघ १० गते । लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगाे भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बढी मात्रमा तेलमा लापरबाही तरिकाले मूल्य बृद्धि भएको बताउनुहुन्छ ।
एउटै ब्राण्डको तेलमा पनि फरक –फरक एमआरपी राखेर मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको छ । एक महिना अगाडि भटमासको तेल प्रति केजी १६५ एमआरपी मूल्य भएकोमा अहिले २१० एमआरपी मूल्य पुगेको व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

सनफ्लावरको तेल प्रति केजी केही दिन अघि १८५ एमआरपी मूल्य भएकोमा अहिले २२५ पुगेको छ । यसै गरी तोरीको तेलमा  पनि   मूल्य बृद्धि भएको  व्यापार संघको भनाइ छ । यसको साथै बढी मात्रमा हरियो केराउको मूल्य केही दिन अघि प्रति केजी ९० रुपियामा पाइनेमा बढाएर एक सय रुपियाँ पु¥याएको छ । चामलमा प्रति बोरा एक सय रुपियाँसम्म बढाएको पाइएको छ ।

नेपालमा उत्पादित चामलले नपुगेको कारण भारतबाट आयात गर्नुपरेको कारण चामलको मूल्य बढेको व्यवसायी बताउँछन् । भारतमा पनि चामल नपुगेको कारण अर्को मुलुक भियतनामबाट चालम ल्याउनुपरेकोले भारतमै चामलको मूल्यबृद्धि भएको कुरा व्यापारीहरुलाई बुझन खोज्दा उक्त कुरा बताउने गरेको व्यापार संगका अध्यक्ष श्रेष्ठ गोरखापत्र अनलाइलाई बताउनुहुन्छ ।

अर्को कुरा तेलमा भारतमा पनि तेलको मात्रा प्रशस्त नभएको कारण नेपालमा खाने तेल मिलले भारतमा तेल पठाउने गरेकोले नेपालमा तेलको मूल्य बढेको भन्ने कुरा सुन्नमा आएको उहाँ बताउनुहुन्छ । तर यर्थाथ कुरा के कसरी बढ्यो भन्ने कुरा यसरी भन्ने अवस्था नभएको व्यापार संगका अध्यक्ष बताउनुहुन्छ । तर पछिल्लो समय कोरोनाको कहरले मारमा परेका उपभोक्तालाई एमआरपी मूल्यमै लापरबाही तरिकाले मूल्य राखेकोले उपभोक्ता माथि खेलवाड भएको व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट तेलको विषयमा नियमित अनुगमन भइरहेको र गलत गर्नेलाई कारबाही गर्ने बताउनुहुन्छ । पछिल्लो समय खाने तेलमा विदेशीमा कच्चा प्रदार्थको मूल्यवृद्धि भएको कारण मूल्य बढेको भन्ने सुन्नमा आएको यस विषयमा विस्तृत जानकारी र अनुगमन गरि जानकारी लिने काम भइरहेको महानिर्देशक सुवेदी बताउनुहुन्छ ।

अहिले विभिन्न बहाना बनाएर सामानको मूल्य बनाउने कुनै कारण नभइएकोले मूल्यबृद्धि गर्ने माथि कारबाही गरेरै छाड्ने उहाँले बताउनुभयो । यसै गरि निर्माण सामाग्रीमा पनि विना कारण सामानको मूल्य बढाएको पाइएको बताउँदै उनीहरुमा माथि पनि निगरानी गरिरहेको उहाँले बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही हप्ता अगाडि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।पछिल्लो एक-डेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन दिएको थियो ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म घ्यू र तेल १३.०१ प्रतिशत महँगो भएको देखिएको छ । विभागका अनुसार विभागले नेपालमा सञ्चालित १७ वटा तेल उद्योगलाई मूल्य बढ्नुको कारणसहितको विवरण बुझाउन निर्देशन दिएको थियो ।

उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनुपरेको बताउँदै आएका छन् । विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।

यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन खाद्य तेलमा मूल्य बढाउनुको कुनै कारण र तर्क नभएको बताउहुन्छ । किनकी खाद्य तेलमा चाहिने कच्चा प्रदार्थ प्रर्याप्त मात्रमा विना रोकतोक बाहिरबाट नेपाल आइरहेका छन् भने मूल्य बृद्धि किन भनेर तेल उद्योगीलाई अध्यक्ष महर्जन प्रश्न गर्नुहुन्छ ।

मूल्य बृद्धिको प्रमुख कारण अस्थिरताको फाइदा लिन तेल उद्योगी लागिपरेको उहाँले बताउनुभयो । उनीलाई सरकारबाट कडा कारबाहीको प्रावधान नल्याएसम्म लुटतन्त्र नरोकिने अध्यक्ष महर्जनको दावी छ । यस्ता गलत गर्ने धमिलाे खोलामा माछा मार्ने पल्किएकालाई उद्योग नै केही महिनाको लागि खारेजी वा निलम्वन गर्ने गरि कारवाही गर्नुपर्नेमा उहाँको जोड छ । होइन भने अराजकता गरेर मूल्य बढाएर करोडौ कमाएर ३ लाख जरिवाना तिरेर उम्किन पाउने हो भने सधै यसरी नै उनीहरुको मनलाग्दी चलिरहने उहाँको दावी छ ।

सरकारले गलत गर्ने यस्ता उद्योगमाथि सामान्य राजश्व उठाएर उन्मुक्ति दिनेभन्दा पनि होस खुल्ने गरी कारवाही गर्न आवश्यक रहेको उपभोक्ताकर्मी महर्जन बताउनुहुन्छ ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्