RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/११ गते
५३९ पटक

मुलुकमा संघीयता लागू भएसँगै स्थानीय तह पनि पुनर्संरचना गरियो । साविकका गाविसहरू मिलेर गाउँपालिका तथा नगरपालिका बने । जुम्लामा पनि पाँचवटा गाविस मिलेर बनेको कनकासुन्दरी गाउँपालिकाले अधिकार र स्रोतसम्पन्न स्थानीय तहको नयाँ अभ्यास गर्ने अवसरको सदुपयोग ग-यो । गाउँको मुख्य सम्भावना रहेको कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस गाउँपालिकाले साँष्कृतिक रूपमा पनि अगाडि बढाउने प्रयास गरिरह्यो । फलस्वरूप खस सम्भयताको अध्ययान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका कनकासुन्दरी अघि बढेको छ ।

विशेषतः कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको कनकासुन्दरीले विभिन्न बाधा अड्चनका बीच साढे तीन वर्षे अवधिमा काम सन्तोषजनक नै गरेको गाउँपालिका अध्यक्ष नरवीर रावतको दाबी छ । कृषि तथा पर्यटनका क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न गाउँपालिकाले सुरुवातदेखि नै पूर्वाधार विकास, व्यावसायिक योजना निर्माणमा जोड दिँदै आएको छ ।

“पर्यटकीय पूर्वाधारअन्तर्गत गाउँपालिकाका ९ वटै वडामा पदमार्ग, सडक सञ्जाल पु-याएका छौं, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरको संरक्षणमा पनि ठूलो लगानी गरेका छौं,” अध्यक्ष रावत भन्छन्, “सिंजा सभ्यता संरक्षणका लागि खस संग्रहालयको निर्माण कार्य जारी छ ।”

पर्यटनपछिको दोस्रो सम्भावनाको क्षेत्र कृषि हो । सोही तथ्यलाई आत्मसात गर्दै गाउँपालिकाले व्यावसायिक तथा रोजगारमुखी कृषिमा लगानी बढाएको छ । चालू आवमा मात्रै १ करोड १० लाख बजेट कृषिमा छुट्याएको अध्यक्ष रावतको भनाइ छ । ओखरखेती, बाख्रापालन, व्यावसायिक तरकारी खेती तथा सामुहिक खेती गर्नेलाई अनुदान दिने योजनासहित बजेट विनियोजन गरिएको छ ।

डेढ दर्जन विद्यालयमा पक्की नमुना भवन, मालिका बोता बुम्रमाडी चौरमा बृहत् खानेपानी आयोजना, हाडसिंजा स्वास्थ्यचौकीमा ल्याब सञ्चालन, मालिकाबोतामा १ सय किलोवाट विद्युत् उत्पादन गरिएको छ । सुनसान गाउँपालिकाको उपनाम पाएको कनकासुन्दरीलाई तीन वर्षमा सञ्चारको पहुँचमा पु¥याइएको छ भने माथिल्लो कर्णालीका स्थानीय तहमध्यकै ठूलो १८ करोड ५० लाखको लागतमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।

सीमित स्रोतसाधनका बीच नागरिकका असीमित आवश्यकता पूर्ति गर्न मुस्किल भएको उपाध्यक्ष उर्मिला खत्री (भण्डारी) बताँछिन् । २२५.२६ वर्ग किमीमा छरिएर रहेका १४ हजार घरधुरीका विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पु-याउन, पर्यटन प्रवद्र्धन गर्न गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुश गराउने सवालमामा अन्य स्थानीय तहको तुलनामा पछि नरहेको उपाध्यक्ष भण्डारीको दाबी छ ।

संघीयताअघि पूर्ण रूपमा ओझेलमा परेका ऐतिहासिक पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम भएका छन् । उनले भनिन्, “आन्तरिक समस्याका कारण पालिकाको केन्द्र तोक्न ढिलाइ भएको छ । कृषि र पर्यटनलाई प्रथामिकता दिए पनि स्वास्थ्य, शिक्षा, रोजगार, महिला, खानेपानी सडकका क्षेत्रमा नमुना काम गरेका छौं ।”

उपाध्यक्ष भण्डारीका अनुसार स्थानीय सरकार आउनु पहिले पूर्वाधार विकासमा शून्य कनकासुन्दरीका गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्यचौकी भवन, पर्यटकीय पदमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणले गति लिएको छ ।
चालू आवमा कनकासुन्दरीले कृषि तथा पर्यटनलाई प्राथमिकता दिँदै ३७ करोडको बजेट ल्याएको थियो ।

कृषि पर्यटनलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी सडक लगायतका शीर्षकमा प्राथमिकीकरणको आधारमा बजेट विनियोजन गरिएको कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले बताए । उनले भने, “पर्यटन क्षेत्रअन्तर्गत डेढ करोड लागतमा खस संग्रहालय बन्दै छन्, खासगरी चालू आवमा कृषि क्षेत्रअन्तर्गत ओखर खेतीलाई प्राथमिकता दिएका छौं ।” व्यावसायिक कृषि गर्नेलाई ५० प्रतिशत अनुदान, सीप हस्तान्तरण, कृषिमा यान्त्रिकीकरण, बीउ बैंक स्थापना लगायतका नमुना नीतिलाई पनि अघि सारेको बूढाको भनाइ छ ।

खर्चलाई मितव्ययी गर्दै, समृद्ध कनकासुन्दरी बनाउन पाँच वर्षे कार्यकालमा पूर्वाधार सहितको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा जग बसालेर जाने कनकासुन्दरीका जनप्रतिनिधिको प्रतिबद्धता छ । उपाध्यक्ष भण्डारीले थपिन्, “बजेट समयमै नआउने र उपभोक्ता समितिको ढिलासुस्ती, मनपरीका कारण कनकासुन्दरीको पूर्वाधार विकास लक्ष्यअनुसार गति लिन सकेको छैन । तर सुधारउन्मुख अवस्थामा छौं । विगतको भन्दा नागरिक राहत पाएका छन् । अझै गर्ने सोचमा छौं ।”

नेपाली खस भाषाको उद्गमस्थल, धार्मिक ऐतिहासिक पर्यटकीय सम्भावनाको खानी, ऐतिहासिक महत्वका भाषाशैली, रहनसहन, भेषभुषा तथा नेपालकै खष सभ्यताको अध्यायन थलोका उपनामले कनका सुन्दरी चिनिन्छ । खषभाषा उत्पत्ति भएको हाँडसिंजा कनकासुन्दरीमै पर्छ ।

कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेवीको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा आदि प्रख्यात पर्यटकिय स्थलहरू हुन् । यीनै पर्यटन क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन गर्ने सोचमा कनकासुन्दरी छ ।

गाउँपालिकको पूर्वमा पातारासी, पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका, उतरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिँजा गाउँपालिकासँग सिमाना जोडिएको छ । कारोबार दैनिकबाट सागर परियार

प्रतिकृया दिनुहोस्