RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१३ गते
६८४ पटक

गुल्मी-परम्परागत रुपमा गरिँदै आएको कृषि पेशालाई पछिल्लो समय व्यावसायिक बनाउन थालिएको छ । निर्वाहका लागि गरिने कृषिलाई व्यावसायिकमा बदल्न थालिएको हो । परम्परादेखि मकै, कोदो, धान, फापरलगायतका बाली निर्वाहका लागि मात्र गरिने गुल्मीका अधिकांश ठाउँमा व्यावसायिक खेती सुरु गरिएको हो । व्यावसायिक बनाएर अहिले सुन्तला, कागती, ओखर, विभिन्न जातका तरकारी खेती र पशुपालन सुरु गरिएको छ ।

जिल्लाका १२ वटा स्थानीय तहले पनि कृषकलाई व्यावसायिकतर्फ लैजान विभिन्न प्रकारका कार्यक्रम ल्याएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिकासहित अधिकांश स्थानीय तहले ब्याज अनुदानमा कृषकलाई ऋण दिने कार्यक्रम अगाडी सारेका छन् । जिल्लाको छत्रकोट गाउँपालिकाले कृषकलाई प्रोत्सहान स्वरुप पेन्सन दिने कार्यविधि पारित गरेको छ । जसमा ३ तहका कृषक बनाएर प्रोत्साहन रकम उपलब्ध गराउने छत्रकोट गाउँपालिकाले जनाएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकाले कृषि तथा पशु उपजको बजार ग्यारेण्टी गरेको छ । जिल्लाको सत्यवति गाउँपालिकाले पनि उन्नत जातका भैँसी किनेर पाल्ने कृषकलाई ५० हजार अनुदान दिने कार्यक्रम अगाडी सारेको छ ।
जिल्लाको इस्मा गाउँपालिकाले पनि विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ । सबै स्थानीय तहले कागती र सुन्तलाका विरुवा वितरण गरेका छन् ।

निर्वाहमुखी कृषिमा आश्रित भचएकाहरु विस्तारै व्यावसायिक कृषितर्फ लागरिहेको स्वयं कृषकहरु बताउँछन् । रेसुङ्गा नगरपालिका ३ का दामोदर पन्थीले व्यावसायिक गाई, बाख्रा र माछा पालन गरेका छन् । पन्थीले कृषि र पशुपालनमा अथक सम्भावाना छ, यसबाट बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भनेर उदाहरण दिएका हुन् । पन्थीले २०७१ देखि बोक्से बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेका छन् । उनको फार्ममा ३५ वटा उन्नत जातका गाई, २५ वटा उन्नत जातका बाख्रा र ३ वटा पोखरीमा माछा रहेका छन् । फार्मबाट दैनिक १ सय १० लिटर दूध बजार पुग्छ ।

प्रतिलिटर ६१ रुपैयाँका दरले घरबाटै दूध बिक्री हुन्छ । वर्षमा २ लाख ५० हजारको कारोबार गर्ने उनी कमाइबाट आफू सन्तुष्ट रहेको बताउँछन् । फार्ममा दैनिक १० जनाले रोजगारी पाएका छन् । पन्थीले सञ्चालन गरेको फार्मलाई सिङ्गो रेसुङ्गा नगरले गर्वको रुपमा लिएको छ । स्थानीय वडा, नगरदेखि लिएर प्रदेशले पनि उनलाई अनुदान दिएर सहयोग गरेको छ । वडाबाट नगद, नगरबाट जिन्सी र प्रदेशबाट नगद लिएर उनले फार्मलाई अझ बढी व्यवस्थित बनाएका छन् ।

पन्थी जस्ता जिल्लाका युवा कृषकहरु व्यावसायिक कृषि तथा लागिरहेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा सुन्तला, कागती, दाँते ओखरलगायतका फलफूलको रोप्ने, विभिन्न जातका तरकारीको उत्पादन र पशुपालन गरिन थालिएको छ । विस्तारै स्थानीयको सोच बदलिएपछि परम्परागत रुपमा गरिँदै आएको कृषिलाई आधुनिकता र व्यावसायिक कृषितर्फ युवाहरु लाग्दैछन् ।

कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्