RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
१५९ पटक

सरकारले चालु आर्थिक वर्षमा राखेको लक्ष्यअनुसार १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने गर्छ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासभित्र (फागुनसम्म) ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण लिने लक्ष्य छ। यसअघि सरकारले पहिलो चौमासमा ५७ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइसकेको छ।

‘दोस्रो चौमासमा राखिएको लक्ष्य अनुसार नै अहिले आन्तरिक ऋण उठाइएको हो,’ भट्टले भने, ‘बजेटमा गरिएको व्यवस्था अनुसार बाँकी आन्तरिक ऋण पनि चाँडै उठाउँछौं।’ अहिलेको १० अर्ब रूपैयाँ राष्ट्र बैंकले १७ वैक तथा वित्त कम्पनीबाट आन्तरिक ऋण उठाएको हो। जसमा सात वाणिज्य, पाँच विकास बैंक र पाँच फाइनान्स कम्पनीको रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको ऋणपत्र सबभन्दा बढी मुक्तिनाथ विकास बैंकको किनेको छ। मुक्तिनाथले तीन अर्ब रूपैयाँको ऋणपत्र किनेको हो। राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, कृषि विकासले ८० करोड र सिभिल र प्राइम बैंकले ७५ करोड रूपैयाँ बराबरको ऋणपत्र किनेका छन्। इन्भेस्टमेन्ट र सिटिजन्स बैंकले ५०÷५० करोड रूपैयाँ बराबरको ऋणपत्र खरिद गरेका छन्।  त्यस्तै एभरेस्ट बैंकले ३८ करोड ८० लाख र एनसिसी बैंकले १० करोड रूपैयाँको ऋणपत्र किनेका छन्।

विकास बैंकतर्फ कामन, ज्योति विकास, तिनाउ र नारायणी फाइनान्सले पनि ‘विकास ऋणपत्र’ नाम दिइएको उक्त ऋणपत्र खरिद गरेका छन्। कामनाले ७५ करोड, ज्योतिले ५८ करोड ८० लाख, तिनाउले १२ करोड र नारायणी विकास बैंकले ४० लाख रूपैयाँ बराबरको ऋणपत्र किनेका छन्। त्यस्तै युनाइटेड फाइनान्सले ३० करोड, प्रोग्रेसिभ फाइनान्सले २० करोड, सेन्ट्रल फाइनान्सले १५ करोड र रिलाइन्स फाइनान्सले १० करोड रूपैयाँको ऋणपत्र उठाएका छन्।

सात वर्षका लागि  उठाइएको आन्तरिक ऋणमा सरकारले वार्षिक ३.८८  प्रतिशत ब्याज दिने सम्झौता गरिएको छ। राष्ट्र बैंकले माघ १३ गते १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउन ‘विकास ऋणपत्र’ निष्कासन गरेको थियो। उक्त ऋणपत्रमा ५० वटा बैंक तथा वित्त संस्था र बीमा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।

ती कम्पनीले सरकारलाई ऋण दिनका लागि ७१ अर्ब २८ करोड ५० लाख रूपैयाँ प्रस्ताव गरेका थिए। ती प्रस्तावमध्ये सबभन्दा कम ब्याज लिने घोषणा गरेकाको प्रस्ताव स्वीकृत गरिएको भट्टले जानकारी दिए। अहिले उठाइएको ऋणपत्र २०८४ माघ १४ गते परिपक्व हुनेछ। सरकाले चालु आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब रूपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्ष एक खर्ब ९१ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइएको थियो।

बैंकिङ प्रणालीमा अझै तरलता फालाफाल

केही समयदेखि बैंकिङ च्यानलमा रहेको अधिक तरलता अझै कायमै रहेको पाइएको छ। बैंक तथा वित्तीय संस्थाले तरलता कम गर्न अनेक प्रयास गर्दा पनि तरलताको व्यवस्थापन हुन सकेको छैन।

तरलताको व्यवस्था नहुनु भनेको बैंकका थुप्रिएको पैसाले कमाउन नसक्नु हो। बैंकले कमाउन नसकेपछि समग्र अर्थतन्त्रमा असर पर्छ। कोरोना महामारी सुरु भएयता उत्पादनमूलक क्षेत्रबाट खासै माग आउन नसकेको बैंकरहरूको भनाइ छ। पछिल्लो समयमा केही बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीलाई जोड दिएजस्तो देखिए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा जान नसकेको बताइन्छ।

‘कर्जाको ब्याजदर घटाउँदा केही बैंकले लगानी गरेको जस्तो देखिन्छ,’ एक बैंकरले भने, ‘तर अधिकांश कर्जा घर, अटो र सेयरमा गएको छ।’ बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर एकल अंकमा झारेपछि सेयर, सवारी र घर कर्जामा लगानी बढ्दै गएको छ।

समग्र अर्थतन्त्रको विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी हुन आवश्यक हुन्छ। बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाएपछि यतिखेर सेयर बजारमा हरियाली छाएको छ।

बैंकरहरूका अनुसार यतिखेर बैंक तथा वित्तीय संस्थासँग ८० अर्ब रूपैयाँ हाराहारीमा तरलता छ। नेपाल बैंकर्स संघका अनुसार माघ ९ सम्म बैंक तथा वित्तीय संस्थाले ३७ खर्ब ८२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् भने ३२ खर्ब ४४ अर्ब रूपैयाँ लगानी गरेका छन्।

नागरिक दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्