RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२० गते
७०५ पटक

वर्तमान अवस्थामा राजनीतिक अस्थिरता बढेर गएको छ । संविधानको मर्ममा प्रहार भएको भन्दै सर्वत्र आन्दोलनको लहर देखिएको पनि छ । यसै क्रममा नागरिक समाज जो स्वतन्त्र हुन्छन् उनीहरूसमेत खबरदारीका लागि एकताबद्ध भएका छन् । आमनागरिकलाई सचेत बनाउने काममा यसले सकारात्मक भूमिका निर्वाह गर्नेछ ।

नागरिकका लागि आवश्यक पर्ने सबै क्षेत्रका बारेमा सामान्य शिक्षा हुनु नै नागरिक शिक्षा हो । नागरिक शिक्षाले समाजका सदस्यहरूलाई नागरिक अधिकार, कर्तव्य, शासकको दायित्व, आदर्श नागरिकका लागि आवश्यक गुणहरूजस्ता विषयमा ज्ञान दिने कार्य गर्छ । नागरिक भनेको के हो ? नागरिक हुनु र नहुनुमा के अन्तर हुन्छ ? नागरिक अधिकारको उपयोग कसरी गरिन्छ ?

समाज र राज्यबाट नागरिकले कस्तो नागरिक शिक्षा प्राप्त गर्न सक्छन् ? जस्ता सवालका बारेमा स्पष्ट जवाफ दिने कार्य नागरिक शिक्षाले गर्छ । प्रजातान्त्रिक शासन व्यवस्था भएका राज्यमा नागरिक शिक्षाअन्तर्गत शासन व्यवस्थासम्बन्धी ज्ञान वा स्वशासनको शिक्षा पनि पर्छ । नागरिक शिक्षाले प्रजातन्त्र भनेको कस्तो शासन व्यवस्था हो ? यसमा जनताको कस्तो स्थान रहन्छ ? शासनमा जनता कसरी सहभागी हुन्छन् भन्ने जस्ता कुराहरू बताउने कार्य गर्छ ।

प्रजातन्त्र भनेको जनताको शासन हो । यस व्यवस्थामा जनताको समान हिस्सा हुन्छ । जनताद्वारा छानिएर गएका जनप्रतिनिधिहरूमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुन्छ । जनताबाट चुनिएर गएका प्रतिनिधिहरूले नै देशका लागि आवश्यक सबै कानुन निर्माण गरी लागूसमेत गर्छन् । प्रजातान्त्रिक व्यवस्थामा राज्यका नागरिकहरू प्रजाका रूपमा नभई नागरिकका रूपमा रहेका हुन्छन् ।

त्यसैले शासकले दिएका सुविधाको उपयोग गर्ने र शासकको आज्ञा चुपचाप स्विकार्न होइन, आफ्ना प्रतिनिधिमार्फत शासनमा सहभागी हुन्छन् भन्ने ज्ञान नाागरिक शिक्षाबाट प्राप्त हुन्छ । नागरिक शिक्षा त्यस्तो शिक्षा हो, जसले समाजका सदस्यहरूलाई राजनीतिक चेतना प्रदान गर्छ । साथै नागरिकलाई राजनीतिमा सक्रिय सहभागिताका लागि प्रोत्साहितसमेत गर्छ । नागरिक शिक्षाले नै नागरिकलाई सचेत र अधिकार तथा कर्तव्यप्रति उत्तरदायी बनाउँछ ।

नागरिक शिक्षाको क्षेत्र भनेको नागरिकहरूलाई राज्यप्रति कर्तव्य परायण शासकप्रति आज्ञाकारी बनाउन बढी जोड दिन्थ्यो, किनभने पहिले–पहिले सामान्य नागरिकलाई शासनको अधिकार हुन्थ्यो । वर्तमान समयमा प्रजातान्त्रिक धारणा व्यापक भएकाले राज्यमा सदस्यहरू राजनीतिक अधिकारयुक्त हुन्छन् ।

त्यसैले आजभोलि यसअन्तर्गत अधिकार र कर्तव्यको बोध हुने दुवै कुराहरू पर्छन् । नागरिक शिक्षालाई सामाजिक मूल्य–मान्यता र राजनीतिक प्रणालीले निर्धारित गरेको हुन्छ । त्यसैले गर्दा एउटा सामाजिक र राजनीतिक प्रणालीले निर्धारित गरेको नागरिक शिक्षा अर्को प्रणालीमा लागू नहुन सक्छ ।

एउटा परम्परागत र निरङ्कुश शासनअनुसारको नागरिक शिक्षा प्रजातान्त्रिक र उदार समाजको भन्दा फरक हुन्छ । त्यसैले नागरिक समाज गतिशील भएकाले नागरिक शिक्षा पनि समाजसँगै परिवर्तित भइरहन्छ । त्यसैले नागरिक अधिकार यति नै हो भनेर किटान गर्न पनि कठिन छ ।

नागरिक शिक्षाको क्षेत्र निर्धारण गर्न गाह्रो र परिवर्तनशील भए पनि सामान्यतया नागरिक शिक्षाअन्तर्गत राज्यको सदस्यता वा नागरिकता, आदर्श नागरिकका लागि आवश्यक गुणहरू, नागरिक अधिकार, नागरिक समाज र राज्यप्रतिको दायित्व, नागरिक समाजमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक असमानताजस्ता सवालहरू यसअन्तर्गत पर्छन् ।

त्यसै गरी प्रजातान्त्रिक शासन व्यवस्था भएका राज्यमा नागरिक शिक्षा भन्नाले स्वशासनसम्बन्धी शिक्षा भएकाले त्यस्तो स्थानमा यसअन्तर्गत प्रजातान्त्रिक शासन प्रणाली, प्रजातान्त्रिक धारमा मूल्य र मान्यताहरू, शासनमा नागरिकको स्थान र सहभागिताको आधार, जनप्रतिनिधिहरूको जिम्मेवारी, निर्वाचनको महŒव तथा बहुलवादी समाजमा सबै वर्गको सहिष्णुताजस्ता कुराहरू यसअन्तर्गत पर्ने विषयहरू हुन् । समाजमा हरेक सदस्यहरूले आफ्नो अधिकारको प्रयोग अरूको अधिकारको हनन नहुने गरी गर्नुपर्छ ।

अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटाझैं हुन्छन् । एउटा व्यक्तिको अधिकार अर्को व्यक्तिको कर्तव्य र एउटा व्यक्तिको कर्तव्य अर्को व्यक्तिको अधिकार हो । अधिकारको हकदार त्यही व्यक्ति हुन्छ जो आफ्नो कर्तव्य पालन गर्छ । कर्तव्यको दुनियाँमा मात्र अधिकार जीवित रहन सक्छ ।

सबैले केवल अधिकार मात्र खोज्ने र कर्तव्य पालन नगर्ने हो भने त्यस्तो अवस्थामा अधिकार कायम हुन सक्तैन । समाजका सदस्यले नागरिक शिक्षा प्राप्त गरे भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन हुने गरी गर्दैनन्, किनकि उनीहरूलाई आफ्नो अधिकारको सीमा के हो र आफू समाजको सदस्य भएको नाताले समाजप्रतिको आफ्नो कर्तव्य के हो भन्ने कुराको ज्ञान हुन्छ । नागरिक शिक्षाले समाजका सदस्यलाई अधिकारप्रति सचेत बनाउनुका साथै आफ्नो कर्तव्य पालन गर्न प्रेरित गर्छ ।

नागरिक शिक्षाले अनुशासनपूर्ण जीवन बिताउन प्रेरित गर्ने हुँदा त्यसबाट अनुशासनपूर्ण समाजको निर्माणमा मद्दत पुग्छ । कुनै पनि राज्य आदर्श हुन समाज पनि आदर्श हुनुपर्छ । समाज आदर्श हुनका लागि आदर्श नागरिक हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले आदर्श नागरिक के हो र आदर्श नागरिक हुन के कुरा आवश्यक पर्छ भन्ने कुराको ज्ञान दिई आदर्श नागरिक निर्माणमा सहयोग पु¥याउँछ ।

राजनीतिक चेतना र ज्ञान भएका नागरिकहरू भएमा नै योग्य र सक्षम शासक हुन सक्छन् । नागरिक शिक्षाले नागरिकलाई राजनीतिक चेतना प्रदान गर्ने हुँदा पनि यो ज्यादा महŒवपूर्ण भएको छ । प्रजातान्त्रिक शासन व्यवस्थामा नागरिकमा प्रजातान्त्रिक मूल्य, मान्यता र ठोस प्रतिबद्धताको आवश्यकता पर्छ । प्रत्येक नागरिकमा प्रजातान्त्रिक आदर्शबारे आवश्यक ज्ञान र त्यहीअनुरूपका सीप र दायित्व भएमा प्रजातन्त्र दिगो र बलियो हुन्छ ।

नागरिक शिक्षाले संकीर्ण भावना हटाई नागरिकमा सामूहिक र सामाजिकताको भावना विकसित गराउँछ । यसले समाजमा रहेका विविध समूहहरूबीच सहिष्णुताको वातावरण सिर्जना हुन्छ । त्यसैले नागरिक शिक्षाको अभावमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक दंगा र हिंसासमेत हुन सक्ने हुँदा बहुलवादी समाजमा सामाजिक एकता कायम गर्न र सहिष्णुताको वातावरण बनाउन यसको महत्व व अझ बढी देखिन्छ ।

नागरिक शिक्षाले प्रजातान्त्रिक शासन व्यवस्थामा बहुमत र अल्पमत दुवैको महत्व दर्साउँछ । अल्पमतको पनि सम्मान गर्दै जाने र बहुमतले गलत कार्य गर्न खोजेमा रोक्ने कार्य पनि गर्छ, जसका लागि नागरिक शिक्षाको महŒवपूर्ण भूमिकाको स्वयं सांसदहरूलाई पनि उत्तिकै खाँचो हुन्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा जनताका सहभागिताको बढी महत्व रहन्छ ।

शासन व्यवस्थामा जनताको सहभागिताको मात्रा जति बढी भयो त्यति नै शासन व्यवस्था बलियो हुन्छ भने जनताको संलग्नता र सहभागिताको मात्रा शासनमा जति न्यून भयो त्यो व्यवस्था त्यति नै कमजोर बन्दै जान्छ । नागरिक शिक्षाले शासनमा राजनीतिक सहभागिताका लागि प्रोत्साहित गर्छ ।

त्यस्तै प्रजातान्त्रिक व्यवस्थामा प्रजान्त्रिक आदर्शअनुरूपको आचरण प्रजातान्त्रिक र राजनीतिक चेतनाबिनाको समाजमा मानव अधिकार सामाजिक मूल्य मान्यता र आदर्श, कानुनको शासन, उत्तरदायित्वपूर्ण व्यवहार, सामूहिक भलाइजस्ता महत्वपूर्ण पक्षको आशा गर्न सकिँदैन । समग्रमा भन्नुपर्दा नागरिक शिक्षाले आफ्नो कर्तव्यबोध, अधिकार, सामाजिक प्रतिष्ठा र आफूले अरूप्रति गर्ने व्यवहारलगायतका विविध पक्ष समेट्ने भएकाले नागरिक शिक्षा आजको सन्दर्भमा अझै महŒवपूर्ण भएको छ ।

कारोबार दैनिक………

प्रतिकृया दिनुहोस्