RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२१ गते
९४ पटक

दार्चुला, माघ २० गते । छेउमै महाकाली नदी बगे पनि लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ । रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन् । स्थानीय लीलाधर पन्तले भन्नुभयो, पल्लो गाउँबाट पाइपमार्फत ल्याएको पानी कहिले–काँही त आउने गथ्र्यो, तर सडक निर्माणको क्रममा उक्त खानेपानी लाइन अवरुद्ध भएपछि पिउनका लागि समेत महाकालीबाट पानी बोक्नुपरेको छ ।

पानी बोक्दा बोक्दै कम्बर र काँधमा निलडाम बसेको स्थानीय महिलाहरुले दुःखेसो पोखेका छन् । विहान, बेलुकी पानी बोक्नुपर्ने भएकोले आफूहरुको पढाइ छुट्ने गरेको गुरुकुल मावि दशरथचन्द नगरपालिका–६ शेरामा कक्षा १० मा अद्ययनरत छात्रा मनीषा टमटाले गुनासो गर्नुभयो ।
खानेपानी नहुँदा वर्षौंदेखि महाकालीको धमिलो पानी बोकेर खानुपरेको अर्का स्थानीय रोशनी पन्तले बताउनुभयो ।

खानेपानी र गाउँमा सिँचाइ नहुँदा कृषि पेशा गरी खान मुश्किल भएको उहाँको गुनासो छ । गाउँमा तराईको जस्तै सम्म परेको खेत छ । खेतको छेउबाटै सुसाउँदै महाकाली नदी बग्छ तर सिँचाईको अभावमा रतौडाका बासिन्दाले आकाशेपानीको भरमा खेतीपाती लगाउनुपर्ने बाध्यता छ ।
चुनावताका सिँचाइ समस्या समाधानका लागि दलैपिच्छे नेताहरूले नारा र सपना मात्र देखाउने गरेका छन् ।

जब निर्वाचन सकिन्छ अनि सपना देखाउने कुनै दलको नेताले फर्केर हेर्ने चलन छैन् । वर्षातमा पानी परेपछि खेतीपाती लगाउने गरेका छौँ, स्थानीय लक्ष्मी टमटाले भन्नुभयो, हिउँदमा खासै पानी नपर्ने भएकाले सिँचाइ सुविधा नहुँदा खेत बाँझै रहने गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएकोले खेतमा खडेरी परेको छ ।

महाकालीको पानी लिप्टीङ प्रणालीबाट सदुपयोग गर्न सके पुरै गाउँमा सुविधा पुग्ने उहाँको भनाइ छ । बर्खायाममा महाकाली नदीमा माटो र बालुवा मिश्रित धमिलो पानी आउने गरेको छ । नदीको फोहोर पानी पिउनुपर्ने बाध्यतासंगै मनमा बाढीको त्रास पनि हुने गरेको स्थानीय राधा पन्तले बताउनुभयो ।
गाउँमा तटबन्ध र सिँचाइ सुविधा भए अन्न फष्टाउने सम्भावना छ ।

अहिले अन्न किनेर खानुपर्ने अवस्था रहेकोमा सिँचाइ सुविधा भए बेच्नका लागि समेत अन्न उत्पादन गर्न सकिने खेत रहेको स्थानीय रघु टमटाले बताउनुभयो । हामी यतै जन्मियौँ, ५५ वर्षीय विशनसिंह पन्तले भन्नुभयो, अहिले बूढेसकाल पनि लागि सक्यो तर यो गाउँमा सिँचाइ र खानेपानीको सुविधा हुनसकेको छैन ।

गोरखापत्र दैनिकबाट………….

प्रतिकृया दिनुहोस्