RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
९९० पटक

काठमाडौँ,  । पश्चिमी भेगमा हल्का वर्षाकै भरमा यस पटकको हिउँद जाने देखिएको छ । हिउँद सकिन लाग्दा वर्षा भएको छैन, साथै उच्च हिमाली भेगमा राम्ररी हिमपातसमेत हुन सकेको छैन ।

वर्षभरि पर्ने पानीमध्ये ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने र बाँकी अन्य मौसममा हुने दाबी जल तथा मौसम विज्ञान विभागले गरेको छ । त्यसअनुसार यस वर्षको पोस्ट मनसुन, हिउँद र प्री–मनसुनमा गरेर बाँकी २० प्रतिशत वर्षा हुनुपर्ने हो ।

यसमा हिउँदे वर्षा लगभग छ प्रतिशतसम्म हुन आउँछ तर त्यसको न्यून प्रतिशत पनि हालसम्म हुन नसकेको मौसमविद्हरूले स्वीकार गर्नुभयो । हिउँद मात्र हैन, प्री–मनसुनको केही महिना पनि सुक्खा र तातो हुँदा खडेरी लाग्ने अनुमान मौसमविद्ले गरेका छन् ।

विभागका पूर्वमहानिर्देशक डा. मदनलाल श्रेष्ठले भन्नुभयो, “नेपालमा पानी पर्ने जुन प्रणाली छ त्यो सहज भएन, अघिल्ला केही वर्ष पनि हिउँदमा यस्तै सुक्खा भएको थियो ।” पश्चिमी वायुको प्रभाव जति सक्रिय हुनुपर्ने हो, यसपालि त्यो हुन नसकेको उहाँले बताउनुभयो । यस विषयमा मौसमविद्हरूले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै बहस गरिरहेका छन् ।

एक थरीले हरेक केही वर्षमा फेरिने मौसमी चक्रमा आएको शून्यताका कारण हिउँद सुक्खा रहेको आकलन गरेका छन् । केहीले भने प्रशान्त महासागरमा विकास भएको लानिनाका कारण हिउँदमा नेपालमा वर्षा हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्