RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
५७० पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । विशेषगरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था निकै नै कडा बनाइएको छ ।

गृहले बुधबार नै विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि भएको भन्दै त्यस्ता गतिविधिहरु हुन नदिने भन्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

यसैबीच प्रचण्ड–नेपाल समूहले गरेको बन्द आह्वानले जनजीवनमा असर परेको छ । बिहानैदेखि उक्त समूहका नेता कार्यकर्ता बन्द गराउँदै सडकमा उत्रिएका छन् । बन्द गराउँदै हिँड्नेलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।

यसैबीच शान्तिपूण बन्द आह्वान गरेको जनाइए पनि काठमाडौंको गोंगबुमा एउटा ट्याक्सी जलाइएको छ । दुई अज्ञात व्यक्तिले ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले आमहड्ताल शान्तिपूर्ण हुने बताएको थियो । त्यस्तै अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने पनि जनाएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्