RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
७६८ पटक

काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका वेला उच्च पहाडी क्षेत्रमा समेत शनिबार हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै दुई दिनदेखि मुलुकभर चिसो बढेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रसँगै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा शनिबार राति पनि हिमपात भएको थियो ।

डोल्पामा हिमपात, कृषक उत्साही

हिमाली जिल्ला डोल्पामा वर्षात्सँगै भारी हिमपात भएको छ । बिहीबार दिउँसो मौसममा आएको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो ।जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएका छन् । ती बस्तीमा बाग्लो हिउँ जमेको छ । तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र पनि हिउँले ढाकिएका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुन्डो गाउँपालिकामा पनि बाग्लो हिउँ जमेको छ ।

हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुन्डो गाउँपालिकाका वडा अध्यक्ष निमा लामाले बताए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न सुरु भएको र आजसम्म दर्जनभन्दा धेरैपटक हिमपात भइसकेको उनको भनाइ छ । हिउँदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजंगल हिउँले सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरि पनि हिमपात हुने सम्भावना देखिएको छ ।

जलवायु परिवर्तनको असर

हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असरहरू बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ–दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठपटक हिउँ पर्ने भए पनि अहिले एकपटक पनि मुस्किलले हिउँ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए । हिमालमा हिउँ नपर्नु, तालतलैया, नदनिालाका सतह घट्नु, हिमालहरू सुक्खा र नांगा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।

हिउँदेबाली सप्रने

लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि कृषकहरू चिन्तित भएका थिए ।

अग्ला गाउँबस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुसी भएका छन् । जिल्लाभरि नै बिहीबार रातिदेखि सुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जाँ, उवालगायत बाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका– १ का कृषक भीमप्रसाद देवकोटाले बताए । ‘हिउँदमै परेको खडेरीले गर्दा गहुँ, जौ, आलु सुक्न थालेपछि चिन्तामा थियौँ, भोकमरीमा पर्ने हो कि भन्ने डर थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो,’ देवकोटाले भने ।

यार्सागुम्बा संकलक पनि उत्साही

वर्षात्सँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा संकलक पनि उत्साहित भएका छन् । बहुमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यक पर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीयको भनाइ छ । जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरि नै संकलनमा प्रतिबन्ध लगाइएको थियो । प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गर्ने गरिन्छ ।

मनाङको तापक्रम माइनस ९ पुग्यो

हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट निरन्तर हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नौ डिग्री सेल्सियस पुगेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामेलगायत ठाउँमा हिमपात भएको छ । चिसोका कारण मानिसको चहपहल घटेको छ । मनाङमा यसअघि २१ पुसमा माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यस वर्ष पहिलोपटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएको उनले बताए । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेडक्वार्टर मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए ।

हिमपातले हुम्ली किसान उत्साहित

हिमाली जिल्ला हुम्लामा हिमपात भएपछि किसानहरू उत्साहित भएका छन् । मंसिरयता वर्षा नहुँदा चिन्तित बनेका किसान शुक्रबारबाट बर्खा र हिमपात भएपछि खुसी भएका हुन् ।

आकाशे पानीका भरमा खेतीपाती गर्दै आएका यहाँका किसानले यतिवेलाको वर्षाले जेठासी बाली गहुँ, जौ, उवा राम्रो हुने आशा लिएका छन् । बर्खा नहुँदा गाउँघरवरपरका पाखामा आगलागी भएर धुँवाधुलोले वातावरण निस्सासिँदो बनेको थियो । यस्तै, लामो समयदेखि खेतबारीसमेत बाँझै छन् । खेतबारीमा छरेका उपज पनि उम्रिएका छैनन् ।

सिँचाइ नहुँदा गहुँ, जौ, उवा बाली कतै पनि नउम्रिएको अधिकांश किसानले गुनासो गर्दै आएका छन् । वनपाखा धेरै जसोमा आगलागी भएर पशुवस्तु चरिचरनका लागि अभाव देखिएको छ । आगलागी हुँदा चरन गर्दा लामो बाटो तय गर्नुपर्ने बाध्यात्मक अवस्था आएको चंखेली गाउँपालिका– ५ का जैबिरे रावलले बताए । ‘हिँउ र हुम्लाबीच परिपूरक र समपूरक सम्बन्ध रहेको छ,’ उनले भने, ‘हिँउ नपर्दा वातावरणमा मात्र होइन, प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपमा पनि असर पर्न थालेको थियो ।’

उत्तरी गोरखामा पनि हिमपात

उत्तरी गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा शुक्रबार बेलुकाबाट हिमपात सुरु भएको छ । यसअघि समयमै हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्ने चिन्ताले किसानलाई सताएको थियो । तर, हिमपात भएपछि किसान उत्साहित बनेका छन् ।

‘अघिल्लो वर्ष मंसिरमै हिमपात हुन्थ्यो । तर, यो वर्ष माघको मध्यसम्म पनि हिमपात नहुँदा हामी चिन्तित थियौँ,’ धार्चे–४ लाप्राकका किसान माइला गुरुङले नयाँ पत्रिकासँग भने, ‘हिमपातपछि माटो मलिलो हुन्छ र अन्नबाली पनि सप्रिन्छ । यसले हिउँदे बाली राम्रो हुने आशा पलायो । उनले धेरै बाक्लो हिउँ परे उल्टै क्षति हुने पनि बताए । ‘अहिले गहुँ, जौको टुसा पलाएको छ, धेरै हिउँ पर्‍यो भने सबै मर्छ,’ उनले भनिन् ।

लाप्राकमा निर्माणाधीन एकीकृत नमुना बस्ती हिउँले ढाकिएको छ । तल्लो पुरानो बस्तीमा भने हिउँ परेको छैन । स्थानीयहरू हाल पुरानो बस्तीमा नै बसोवास गर्दै आएका छन् । लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुप्सीपाखामा पाँच सय ७३ घर निर्माण गरिरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेकाले स्थानीयको जनजीवन भने कष्टकर बनेको छ ।

नयाँ पत्रिका दैनिकबाट………..

प्रतिकृया दिनुहोस्