RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
५५२ पटक

काठमाडौँ ,  स्थानीय सरकार (गाउँपालिका÷नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् ।
हालसम्म २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । त्यसमध्ये काठमाडौँ महानगरले मात्रै १७ वटा समकक्षीसँग सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय वा मन्त्रालयसँग यसको यकिन
आँकडा पाइँदैन ।
स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारको पूर्वस्वीकृति लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि नआउने गरेका कारण यससम्बन्धी कार्यविधि बनाउन थालिएको सो मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र अनुभव आदानप्रदान तथा नागरिक कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न थालिएको हो तर यस्तो सहयोग आदानप्रदान सीमित हुने गरेको छ ।

काठमाडौँ र पोखरा अगाडि
सबभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गर्ने स्थानीय तह काठमाडौँ महानगरपालिका हो । यसले १७ वटा विदेशी सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । सबभन्दा बढी चीनका छ, अमेरिकाका चार, दक्षिण कोरियाका दुई तथा जापान, बेलारुस, म्यान्मार, भारत र उत्तर कोरियाका एक÷एक सहरसँग भगिनी सम्बन्ध बनाइसकेको छ ।

पोखरा महानगरपालिकाले चीनका आठ तथा जापान, टर्की र उत्तर कोरियाका एक÷एक गरी ११ विदेशी सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । भरतपुर महानगरले चीनका तीनवटा सहरसँग भागिनी सम्बन्ध स्थापना गरेको छ । भरतपुर महानगरले थप छवटा विदेशी सहरसँग सम्बन्ध कायम गर्नेतयारी भइरहेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाले चीनको वुहान र जापानको हिरोसिमा सहरसँग भगिनी सम्बन्ध स्थापना गरेको छ भने भारत, चीन, जापान, अस्ट्रेलिया ताइवानका सहरसँग भगिनी सम्बन्धको प्रक्रिया अगाडि बढाएको छ । यसैगरी वीरगञ्ज र ललितपुर महानगरपालिकाले भने हालसम्म कुनै पनि विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छैनन् ।

ललितपुर महानगरपालिकाले जर्मन र दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव पठाएको महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । वीरगञ्जले तीनवटा भारतीय नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको छ । केन्द्रबाट स्वीकृति लिएर सम्बन्ध गाँस्नुपर्ने र महानगरपालिकाकै अन्य अत्यावश्यक काम गर्दा नै फुर्सद नपाएकाले हालसम्म कसैसँग पनि भगिनी सम्बन्ध गाँस्न नसकिएको वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले जानकारी दिनुभयो ।

स्थानीय तहसँग सम्बन्ध विस्तार
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि स्थानीय तहले विदेशी स्थानीय सरकारसँग मात्रै होइन, गाउँपालिका, नगरपालिकासँग पनि भगिनी सम्बन्ध कायम गर्न थालेका छन् । झन्डै दुई दर्जन स्थानीय तहबीच भगिनी सम्बन्ध कायम भएको छ । काठमाडौँ महानगरपालिकाले नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरेको छ ।
काठमाडौँ महानगरले प्रत्येक प्रदेशमा कम्तीमा एउटा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने लक्ष्य राखेको छ । पोखराले भरतपुर र धरानसँग पनि भगिनी सम्बन्ध स्थापना गरेको छ । भरतपुर महानगरपालिकाले पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग पर्यटन प्रवद्र्धनका लागि दुईपक्षीय सम्झौता नै गरेको छ । काठमाडौँ महानगरपालिकाका निर्देशक एवं सूचना अधिकारी वसन्त आचार्यले नगरपालिकाबीच गरिएको भगिनी सम्बन्धले नागरिक–नागरिकबीचको सम्बन्धलाई प्रगाढ पार्दै दुई नगरबीच भएका असल अभ्यास आदानप्रदान भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महानगरपालिकाले जुम्लाको चन्दननाथ नगरपालिकासँग गरिएको भगिनी सम्बन्धका आधारमा जुम्लामा फलेका स्याउ महानगरपालिकाले खरिद गरी काठमाडौँ ल्याएर बिक्री गर्ने गरी गृहकार्य गर्दैछ ।”

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले दुई नगरबीचको असल अभ्यास आदानप्रदानसँगै भौतिक पूर्वाधारको विकासमा समेत सहयोग पुगेको बताउनुभयो । काठमाडौँ र रामग्रामको लागत साझेदारीमा रामग्राम–१८ मा रहेको गौतम बुद्धको मावलीघर मानिने पण्डितपुरको संरक्षण, कोलिया शान्ति उद्यान निर्माण गर्ने सम्भौता भएको छ । सो कार्यका लागि काठमाडौँ महानगरपालिकाले डेढ करोड रुपियाँ आर्थिक सहयोग गरेको छ ।
काठमाडौँको टोखा नगरपालिकाले गुल्मीको छत्रकोट गाउँपालिकासँग सम्बन्ध कायम गरेको छ । असारमा टोखाले मास्क, सेनिटाइजर, पीपीईलगायतका सामग्री सहयोग दियो । विभिन्न गाउँ÷नगरपालिकाबीचको साझेदारी र सम्बन्धले कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा सहकार्य, सहयोग र अनुभव आदानप्रदान हुने गरेको छ ।

सहयोग आदानप्रदान
विदेशी सहरसँग भगिनी सम्बन्धको सम्झौता गर्दा आर्थिक, उद्योग–व्यवसाय, पर्यटन, पूर्वाधार, शिक्षा र संस्कृतिको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले धेरै ठूलो उपलब्धि नभए पनि त्यसले विकासको अनुभव आदानप्रदान गर्ने र पर्यटक भिœयाउने एउटा आधार तयार पार्नसक्ने सम्भावना देखिएको बताउनुभयो ।
भगिनी सम्बन्ध स्थापना गर्नुको मुख्य उद्देश्य नै सहयोग र अनुभव आदानप्रदान हो । काठमाडौँ महानगरपालिकालगायत केही नगरपालिकाले विदेशी सहरबाट सहयोग प्राप्त गर्दै आएका छन् । काठमाडौँ महानगरले चीनको ल्हासा म्युनिसिपालिटीबाट सौर्य बत्ती, भूकम्पको बेलामा आर्थिक सहयोग प्राप्त गरेको छ ।
चीनकै नान्जिन सहरले फोहोरमैला व्यवस्थापनका लागि कम्प्याक्ट गार्भेज ट्रक तथा छेन्दुबाट दुईवटा बु्रमर प्राप्त भएको काठमाडौँ महानगरपालिकाका निर्देशक एवं सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । कोरोना महामारीका बेला नान्जिन र ल्हासाले माक्स र पीसीआर मेसिन सहयोग दिएका थिए ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडनजिकै रहेको कोमागाने पार्क तथा मातृ शिशु अस्पताल जापानको कोमागाने सहरको नाममा राखिएको थियो । पार्क निर्माण र मातृ शिशु अस्पतालमा समेत कोमागाने सहरले आर्थिक सहयोग गरेको पोखरा महानगरपालिकाका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनुभयो । “हामीले भगिनी सम्बन्ध स्थापना गरेपछि त्यहाँका नागरिक पोखरा आउने क्रम बढ्दो रहेको छ,” बरालले भन्नुभयो ।
कोरोना महामारीको समयमा भगिनी सम्बन्ध भएका चीनका लिन्जी, कुनमिन (युनान प्राप्त) र ग्वाङ्झाओबाट पोखरा महानगरलाई विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । वीरगञ्ज महानगरका प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा सुधार गर्न भारतीय सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न लागिएको बताउनुभयो ।
महानगरपालिका क्षेत्रभित्र स्वास्थ्य, शिक्षा र सरसफाइ राम्रो होस् भनी केही सिक्न, केही सहयोग लिन, प्रविधि आदानप्रदान गर्न, स्थलगत भ्रमण गरी बुझ्न र बुझाउन भगिनी सम्बन्धले सहयोग गर्ने र सम्बन्धले गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य व्यवस्था र व्यवस्थित सरसफाइ गर्न सहयोग पुग्ने आशा प्रमुख सरावगीले व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका निर्देशक आचार्यले काठमाडौँ महानगरपालिकाले भने विदेशका नगरपालिकालाई नेपाली कला संस्कृतिको जानकारी गराउँदै उक्त नगरपालिकाका प्रतिनिधि नेपाल आउँदा मौलिक स्थानीय उत्पादनको स्वाद चखाए पठाउने गरेको छ ।

कानुनी व्यवस्था
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ८ मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्नसक्ने भन्ने उल्लेख गरिएको छ ।
सङ्घीय सरकारले ‘प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६’ बनाएको छ । यो निर्देशिकाको बुँदा ७ मा ‘स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको
पूर्वस्वीकृति लिई विदेशको कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने छ’ भनिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई देशका नगरपालिकाले गर्दै आएको भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउन कार्यविधि निर्माण गर्दैछ । नेपालका नगरपालिकाले आफूखुसी दुई देशका सहरसँग भगिनी सम्बन्ध कायम गरेकाले त्यसलाई कानुनी दायरामा ल्याउनका लागि कार्यविधि निर्माण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

गोरखापत्र दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्