RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
६०५ पटक

काठमाडौँ,  पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्ने भएको छ । हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै आइतबारदेखि मौसम सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो । शनिबार राति हिमाली भेगमा हल्का हिमपात भए पनि अन्यत्र सामान्य बदलीको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । आगामी २४ घण्टा भने हल्का वर्षा र हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित रहने महाशाखाले जनाएको छ । तराईमा शीतलहर र चिसोसमेत बढेकाले न्यानो रहन सबैलाई आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्